काठमाडौं– नेपाल बैंक लिमिटेडले ६० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा राजधानीमा सम्पन्न साधारणसभा बैंकको आर्थिक वर्ष २०७५÷७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५÷७६ को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरूमा छलफल भई पारित भयो । त्यसै गरी सभाले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने रु.९८,११,१४,८००÷– (अक्षेरूपी अन्ठानब्बे करोड एघार लाख चौध हजार आठ सय) नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने रु.१,४७,१६,७२,२००÷– (अक्षेरूपी एक अर्ब सत्चालिस करोड सोह्र लाख बहत्तर हजार दुई सय) बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । बैंकको अधिकृत पूँजी रु.१० अर्बबाट बृद्धि गरी रु.१५ अर्ब कायम गर्ने, जारी तथा चुक्ता पूँजीमा बृद्धि गरी रु.११,२८,२८,२०,२००÷– (अक्षेरूपी एघार अर्ब अठ्ठाइस करोड अठ्ठाइस लाख बीस हजार दुई सय) कायम गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरू समेत सर्वसम्मतरूपमा पारित गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।