काठमाडौं- गए रातिको वर्षाका कारण आएको पहिरोले मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरूद्ध भएका छन् ।
वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरूद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।
यस्तै पहिरो जाँदा कान्तिराजपथ सडकखण्ड पनि अवरूद्ध भएको छ । हेटौँडाबाट ललितपुर हुँदै काठमाडौँ जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरूद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्डअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरूद्ध भएको हो ।यस्तै उक्त सडकखण्डअन्तर्गत मकवानपुरगढी गाउँपालिकाको बगुवा खोलामा पनि पहिरो गएको छ ।
उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरूद्ध हुने गरेको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार जिल्लाको त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र कुलेखानी(फाखेल सडकखण्डमा भने सवारीसाधन सञ्चालनमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १२:५७