म्याग्दी-म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोटका युवाको सामूहिक पहलमा जनश्रमदानद्धारा च्युरिबोट गाउँमा शनिबार दुई किलोमिटर बाटो मर्मत गरिएको छ ।
च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको हो । वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सासम्म सडक मर्मत गरिएको क्लबका सचिव मदन पुनले जानकारी दिए ।
अविरल वर्षात्सँगै आएको पहिरोले गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा कार्यालय जोड्ने सडक भत्काएपछि यातायात अवरूद्ध भएको थियो । उनका अनुसार क्लबको नेतृत्वमा शनिबार करिब दुई किलोमिटर सडक मर्मत गरिएको छ ।
क्लबमा आवद्ध युवासहित सामाजिक अगुवाले समेत श्रमदान गरेका हुन् । सडक अवरूद्ध हुँदा वडा कार्यालय र स्वास्थ्यचौकीमा सेवा लिन आउने सेवाग्राहीसहित ढुवानीमा समेत समस्या भएको थियो ।
पहिरो पन्छ्यएर सडक मर्मत गरेपछि स्थानीयवासी, बटुवा, विद्यार्थीलगायत सर्वसाधारणलाई सहज भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १६:०९