काठमाडौं-बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले जिन्सी सार्वजनिक गरेको बताए ।
सार्वजनिक विवरणअनुसार गुठीले २७ प्रकारका गहना सार्वजनिक गरेको हो । तीमध्ये ११ थान सुनको तिलहरी, दुई थान सुनको सिक्री, चार टीका, पाँच मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, औँठी, सुनकै जन्तर, नाग, तारलगायत छन् । त्यस्तै चाँदीतर्पm पनि तिलहरी, घोडा, औँठी, पाउजूजस्ता धेरै गहना मन्दिरमा चढाइएको भेटिएको हो ।
विसं २०७७ अघि मन्दिरमा चढेका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउने नियम छ । उक्त नियमअनुसार मालपोतमा दाखिला गरेकोसमेत उनले जानकारी दिए । “केही सामग्री पूजाको बेला चाहिने भएर मन्दिरमा थिए, केही प्रभु बैंकको लकरमा राखिएको थियो”, अध्यक्ष खड्काले भने, “सरोकारवालाको समन्वय र छलफलपछि ती गहनालाई के गर्ने भन्ने निर्णयमा पुगिन्छ ।” कालिकाको पूजा गर्न आउने भक्तजनले फूल प्रसादबाहेक गहनासमेत चढाउने गर्छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९ ११:४०