काभ्रे-बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेपछि सवारी साधान सुचारु भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका–९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलबाट खटिएको टोलीले डिस्पोज गरेपछि सवारी साधान सुचारु भएको हो ।
खतरा लेखिएको प्रेसर कुकर बम राजमार्गमा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । सो खबर पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गण धुलिखेलबाट खटिएको बम डिस्पोजल टोलीले झन्डै दुई घन्टा लगाएर डिस्पोज गरेका थिए।
सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ।
काभ्रे प्रहरीले बन्दकर्ताले सो बम राखेको आशंकासहित अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९ १०:३८