काठमाडौं-सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ ।
बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरुका १८ हजार घर बगाएको बताइएको छ भने कम्तीमा २५ हजार घरमा बस्न नहुनेगरी क्षति पुगेको छ ।
यहाँ केही व्यक्ति हराएका छन् भने एक लाख ३६ हजारजना भन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएर अन्यत्रै सारिएको छ । यहाँका मौसम अधिकारीहरुले सन् १९४६ पछि पहिलोपटक सुडानमका नदीहरुमा पानीको सतह धेरै बढेको जनाएका छन् ।
बाढीका कारण यहाँका कम्तीमा छ ओटा राज्यमा आपतकालको घोषणा पनि गरिएको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएको यहाँको यहाँको ‘नेसनल काउन्सिल फर सिभिल डिफेन्स’ले जनाएको छ । बाढीको बढी प्रभाव रहेका विभिन्न छ राज्यमा सुडानको मन्त्रिपरिषदले आपतकालको घोषणा गरेको सोमबार जनाइएको हो ।
नेसनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार यहाँका रिभर नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा बाढीको बढी प्रभाव देखिएको छ । बाढीको प्रभाव बढी भएका यी राज्यहरुमा सरकारले आपतकाल घोषणा गरेको हो ।
प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गरिएको र आवश्यक सहयोगको प्रवन्ध गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई अनुरोध गरेको छ । स्वदेशी तथा विदेशी सहयोग सङ्कलनका लागि सरकारले एक अलग्गै बैंक खाता खोल्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९ १२:१२