काठमाडौं- दाङमा आज बिहानै एउटा टिपरमा भएको आगजनी बीमाको लोभका कारण भएको पुष्टि भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं। १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको तथ्य सार्वजनिक भएको जिल्ला प्रहरी प्रमुख एसपीले जानकारी दिएको छ ।
प्रहरीले उनीहरू तीनै जनालाई नियन्त्रणमा लिइसकेको छ।
घोराही–लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. ३ बबई पुलको पारिपट्टि कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान साढे ४ बजेतिर आगजनी भएको थियो।
उक्त टिपर दुई दिन अगाडि बिग्रिएर मर्मतका लागि ग्यारेजमा लगिएको तथ्य यस अघि नै जिल्ला प्रहरीले जानकारी दिइसकेको थियो। गाडी चालक अरूण राप्ती गाउँपालिका वडा नं. ८ का हुन् भने सहचालक आकाश गढवा गाउँपालिका-७ का हुन्। अरूणले उक्त गाडी विगत सात वर्षदेखि चलाउँदै आएका थिए।
मर्मत खर्च धेरै आउन थालेपछि साहु भण्डारीले योजना बनाएर चालक र सहचालकलाई आगो लगाउन लगाएको एसपीले बताए।
‘आफैं आगो लगाएर बीमाबाट रकम असुल्ने नियत देखियो,’ एसपीले भने, ‘यसअघि गाडी साहुले आफूलाई गाडी देउखुरीतर्फ लगेकोबारे चालकले कुनै सूचना नदिएको भनेर झूट बोलेका रहेछन्।’
आगजनीबाट टिपरको अगाडिको भाग पूरै जलेर नष्ट भएको छ। विप्लव नेकपाका जिल्ला सेक्रेटरी प्रदीप वलीले आफूहरूको बन्द शान्तिपूर्ण रहने र तोडफोड र आगजनीको कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै टिपर आफूहरूले आगजनी नगरेको बताइसकेका थिए।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९ १२:४३