नुवाकोट– नेपाल समाजवादी कांग्रेससहितको आठ दलीय मोर्चाले राष्ट्रियता बचाउनका लागि एक हुन आह्वान गरेको छ । कांग्रेसको समेत राष्ट्रवादी आन्दोलन समूहले आइतबार नुवाकोटको देवीघाटमा २९८औँ पृथ्वी जयन्ती मनाउने क्रममा सो पार्टीका नेताहरूले यस्तो आह्वान गरेका हुन् ।
कार्यक्रममा नेपाल समाजवादी कांग्रेसको अध्यक्ष गोविन्द निरौलाले संघीयताको नामबाट देश टुक्रिएको भन्दै यस्तो अवस्थामा राष्ट्रियता बचाउनका निम्ति राष्ट्रिय एकता आवश्यक भएको बताएका छन् । राष्ट्रियताको पक्षमा आवाज उठाउँदै आफूहरू पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेको पहिलो विजय भूमिबाट संघीयता र धर्मनिरपेक्षताको साथ संवैधानिक प्रजातन्त्र र हिन्दूराज्यको स्थापना गर्न आजैको दिन नुवाकोटका आएको उद्घोष गरे ।
उक्त कार्यक्रममा राष्ट्रवादी आन्दोलन समूहका नेकपा मालेका महासचिव सिपी मैनालीसमेत उपस्थिति थिए । कार्यक्रममा राष्ट्रिय संयुक्त आन्दोलनका आठ वटै राजनीतिक पार्टीहरूको उपस्थिति थियो ।
तर, आइतबार पृथ्वी जयन्ती मनाउने क्रममा नुवाकोटको देवीघाटमा विवाद भएको छ । काठमाडौंबाट गएको सो राष्ट्रिय संयुक्त आन्दोलनका आठ वटै राजनीतिक पार्टीहरूले कार्यक्रमको आयोजना गर्नै लाग्दा स्थानीय जनप्रतिनिधिहरूले बाधा पु¥याएका थिए । पृथ्वीनारायण शाहको समाधिस्थल देवीघाटमा कार्यक्रम गर्न विदुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिवकुमार चित्रकारसहितले सो कार्यक्रम गर्न अवरोध गरेको कांग्रेसका सचिव मानबहादुर गुरुङले बताएका छन् । उनका अनुसार राष्ट्रिय संयुक्त आन्दोलनका आठ वटा राजनीतिक पार्टीहरूको समूहले सरकारको विरोध गर्दै आएको झोँकमा आफूहरूलाई कार्यक्रम गर्न नदिइएको हो ।
पृथ्वीनारायण शाहजस्तो राष्ट्रिय व्यक्तित्वको जयन्ती मान्नकै लागि पनि अवरोध गर्न खोज्नु अधिनायकवादको पराकाष्ठा भएको सचिव गुरुङले बताएका छन् । उनी भन्छन्, ‘हामीले उठाएका मुद्दाहरू जनपक्षीय भएकाले सरकारले आफू अलोप्रिय हुने देखेर सरकारले योजनाबद्ध तरिकाले हाम्रा कार्यक्रम रोक्न खोजिएको हो ।’ तर, यस्तो अवरोधले राष्ट्रवादी शक्तिलाई कुनै असर नपर्ने उनले बताए ।