काठमाडौं–थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रूपमा विदा दिन नेपाल सरकारसँग माग गरेको छ ।
आइतबार थारु कल्याणकारिणी सभाले पत्रकार सम्मेलन गरी माघ १ गतेलाई राष्ट्रिय पर्वको रूपमा मनाउन र सार्वजनिक विदा दिन माग गरेको हो ।
काठमाडौंको टुँडीखेलमा २०५९ सालदेखि माघीलाई नियमित मनाउँदै आएकोमा यस वर्ष पुस २९ र माघ १ गते तराई आदिवासी थारु समुदायले नयाँ वर्षको रूपमा माघी मनाउन लागेको मूल आयोजक समितिका उपसंयोजक कनुलाल चौधरीले जानकारी दिए ।
यस्तै थारु कल्याण कारिणी सभाका महामन्त्री मिनराज चौधरीले थारुहरूको आवाज सरकारले सुन्दै नसुनेकाले थारुको आवाज सुनाउन माघीमार्फत आन्दोलनको रूपमा मनाउनु पर्नेमा जोड दिए ।
उनले राज्यले एकै जनतालाई दुईवटा कानुन बनाएर कारबाही गर्दा थारुमाथि चरम विभेद भएको आरोप समेत लगाए । यस्तै थारु विद्यार्थी समाजका अध्यक्ष एवं माघी महोत्सवका उप–संयोजक चन्द्र प्रसाद चौधरीले यसपटक माघी पर्वका लागि १५० वटा स्टलहरूको व्यवस्थापन गरिएको जानकारी दिए । यस्तै, उनले स्टलहरू व्यवस्थापन र बुकिङ भइसकेकाले आङ्खनो स्टल बुकिङ गर्नसमेत अनुरोध गरे ।
कार्यक्रममा थारु कल्याणकारीणि उपत्यका समितिका सभापति सुमन चौधरी, थारु महिला समाजकी सचिव अनिता चौधरी, थारु महिला सभाकी अध्यक्ष नीलम चौधरीलगायतले उक्त माघी पर्वको महत्वबारे प्रकाश पारेका थिए । उनीहरूले पनि उक्त पर्वको दिन राष्ट्रिय विदा दिन माग गरेका थिए ।
हालै काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली प्रतियोगिता (साग) मा विजेता भएका थारु समूदायका खेलाडीहरूलाई पनि उक्त दिवसको दिन सम्मान गरिने आयोजक समितिले जानकारी दिएको छ ।
जारी विज्ञप्तीमा भनिएको छ,‘थारु समुदायले माघी पर्वलाई ठाउँ अनुसार फरक फरक नामले समेत मनाउदै आएका छन् । पश्चिम दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुरमा माघ भनेर मनाउने चलन छ भने मध्य तराई जिल्ला रूपन्देही, कपिलबस्तु र नवलपरासीमा खिचरी र चितवनमा खिचरा मनाउने गरिन्छ । त्यस्तै पुर्वमा तिलासंक्राईत नामले माघ १ गतेलाई थारु समुदायले हर्सोउल्लासका साथ मनाउँछन् ।’
‘पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने भावनाको विकास गर्ने यो पर्वको अर्को महत्व हो । बर्षभरिको दुःख सुख एक–आपसमा साटासाट गर्ने, मिठो मसिनो खाएर माघी पर्वलाई हर्षोउल्लासका साथ मनाईन्छ । माघी मकरसंक्रान्तिको दिन पर्ने भएकोले पनि यसलाई महत्वपुर्ण पर्वको रूपमा लिने गरिन्छ ।’–विज्ञप्तीमा भनिएको छ ।
पौष २९ र माघ १ गते टुँडिखेलमा मनाउने उक्त बर्षको माघी (माघ, तिलासंक्राईत, खिचरा, खिचरी ) महोत्सवको तयारी पुरा भएको छ । जस अनुसार पौष २८ गते विहान ८ बजे तिनकुनेबाट भृकुटिमण्डपसम्म मोटरसाईकल र्याली, २९ गते रक्तदान, फूटवल प्रतियोगिता,जीतामार्ने र सांगीतिक कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६ ०७:०४