काठमाडौं–सरोकारवालाहरूले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको स्वाधिनताको विरुद्धमा भएको भन्दै खारेज हुनुपर्ने बताएका छन् ।
उनीहरूले नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको बताए । राष्ट्रिय जागर मंचले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरूले अहिलेकै अवस्थामा एमसीसी संसदबाट पारित गरे नेपाल खाडी मुलुकजस्तै युद्धभूमी बन्ने खतरा रहेको बताए ।
कार्यक्रममा बोल्दै सत्तारुढ (नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमसीसी सैन्य रणनीति भएको बताए । उनले इन्डो प्यासिफिक सैन्य रणनीति भएको बताउँदै एमसीसी पनि उसैको अंग भएको अमेरिकाले बताइसकेको बताए । एमसीसी विद्युत विकास भन्दापनि चीनले अगाडि सारेको बिआरआईलाई अबरोध गर्ने नियतका साथ ल्याइएको पोखरेलले बताए ।
सम्झौतालाई नेपालको कानुनभन्दा माथि राखिएको भन्दै पोखरेलले आपत्ति जनाए । उनले देशको कानुनलाई विस्थापित गर्नेगरी अमेरिकासँग एमसीसी सम्झौता गर्नु राष्ट्रिय स्वाधिनताको विरुद्धमा भएको बताए । पोखरेलले एमसीसीसँग गरिएको सम्झौताअनुसार विद्युत निर्यत गरेर देश समृद्ध नहुने दाबी समेत गरे । ‘विद्युत कच्चा पदार्थ हो, कच्चा पदार्थ निर्यत गर्ने कुनैपनि मुलुक समृद्ध भएका छैनन् । विद्युत निर्यत होइन देशमै खपत गर्नुपर्छ” पोखरेलले भने । उनले एमसीसीबारे आफ्नो पार्टीभित्र व्यापक छलफल भइरहेको बताउँदै अहिलेकै अवस्थामा कदापी पास हुन नदिने बताए ।
नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट्ब्यूरो सदस्य इन्द्रमोहन सिंदेलले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसदबाट पारित भएर लागु भए नेपालको स्वाधिनता समाप्त हुने बताए । उनले चीन विरुद्ध नेपालीभूमी प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको भन्दै खारेज हुनुपर्ने बताए
एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएपनि राष्ट्रघाती भएको बताउँदै खारेज हुनुपर्ने बताए । त्यसविरुद्ध आफ्नो पार्टी सडक संघर्षमा रहेको समेत बताए ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष रंगनाथ ढकालले चीनविरुद्ध नेपालीभूमीलाई उपयोग गर्न अमेरिकाले एमसीसी अगाडि ल्याएको भन्दै खारेज गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा)का अध्यक्ष प्रचण्डले देश र जनताप्रति जिम्मेवार नभएकै कारण एमसीसी सम्झौता भएको ढकालले बताए । उनले सम्झौता खारेजीको लागि सम्पूर्ण जनता सडकमा आउने बेला आएको बताए ।