कुनै बेला विश्वकै चर्चाको विषय बन्दै आएको नेपाल प्रहरी अहिले भने बद्नाम बन्दै गएको छ । राजनीतिक दलहरूको स्वार्थका कारण नेपाल प्रहरी विवादमा पर्दै आएको हो । कार्यपालिकाको सबैभन्दा उच्च स्थानको प्रहरी अहिले बद्नामभन्दा अरु केही हुन सकेको छैन । प्रहरीहरू पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्दा संगठनको बेइज्जती भएको देखिन्छ । प्रहरी निःस्वार्थ मात्र होइन, निष्पक्ष हुन नसक्दा मुलुकमा शान्ति सुरक्षा कायम हुन सकेको छैन । जनताको जीउ, धनको सुरक्षाको जिम्मा लिएको प्रहरीले आफ्नो स्वार्थ मात्र हेर्दा आमजनताले प्रहरीमाथि विश्वास गर्नै छाडेको छ । जनताले प्रहरीमाथि विश्वास नगरेपछि उसले जनताको काम गर्न सक्छ कि सक्दैन ? यसप्रति प्रश्न उठ्न थालेको छ ।
प्रहरीले नेताझैँ भाषण गरेर हिँडेको देखिएको छ । सुशासन, आर्थिक पक्षमा शून्य सहनशीलताको नीति लिने भनेर प्रहरीले भाषण गर्दै हिँड्छन् तर प्रहरीले नै आर्थिक फाइदाका लागि गलत काम गर्दै आएको देखिएको छ । प्रहरीको आचरण व्यवहारमा सुधार गरी गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने आफ्नो एक मात्र उद्देश्य रहेको भन्ने प्रहरी नै चोखा छैनन् । नातावाद र कृपावादबाट प्रहरीमा बढुवा भएकाहरूले सुशासनको गुड्डी हाँकेको सुहाउँदैन तर पनि भाषण गर्न छाड्दैनन् । प्रहरीले सुरक्षा सुदृढीकरण सम्बन्धी भन्दै अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै हिँडेको देखिएको छ । भाषण गर्दै हिँड्ने काम नेताको भए पनि अहिले प्रहरीले साथ दिएको पाइन्छ । जनताको सुरक्षाको जिम्मा लिने प्रहरी नै भाषण र आश्वासन बाँड्दै हिँडेपछि जनताले सुरक्षा पाउलान् त ?
आर्थिक अनियमितता, भ्रष्टाचारलाई निर्मूल पार्न नसकिए मुलुकमा सुशासन र आर्थिक समृद्धि आउन नसक्ने भएकाले प्रहरीले दिने सेवा प्रवाहमा कुनै कर्मचारी आर्थिक अनियमिततामा संलग्न भएमा त्यसलाई कहिल्यै क्षमा नदिने भनेर प्रहरीका अधिकृतहरूले नेताले झैँ भाषण छाँट्दै हिँडेको देखिन्छ । सुशासन र समृद्धिको नारा त सरकारले लगाउने हो । प्रहरीले त दिगो शान्तिका लागि मात्र प्रयास गर्ने हो । तर, प्रहरी नै एक कदम अघि सरेर सुशासन र समृद्धिको भाषण छाँटेपछि अब कस्को के लाग्छ र ? प्रहरीले त लागुऔषध दुव्र्यसनी, गलत काम गर्ने, शान्ति सुरक्षा भड्काउने, समाजमा कोलाहल मच्चाउने, अशान्ति मच्चाउनेहरूमाथि जाइलाग्नुपर्ने बेला विकास र समृद्ध भन्दै अघि बढेपछि यो मुलुकमा विधिको शासन छ कि छैन ? भनेर सोध्नुपर्ने बेला भएको छ । बाहिर निस्किँदा सुगन्धित सडक, मर्यादित समाज, आचरण व्यवहारले समुन्नत नागरिक शान्त, सुरक्षित समाज बनाउने कुरामा प्रहरीले सधैँ ध्यान दिनुपर्ने हो । मुलुकमा बलात्कारका घटनाहरू वृद्धि भएको भएै छ, व्यक्ति हत्याजस्ता काम रोकिएको छैन । गलत कामविरुद्ध आवाज उठाउनेहरूलाई दिनदहाडै मारिएका छन् । प्रहरीले उनीहरूलाई पक्राउ गर्ने होइन, उनीहरूलाई संरक्षण दिने काम गर्दै आएको छ । यस्तो प्रहरीबाट यो समाजको सुरक्षा होला त ? महिला हिंसा, बलात्कार वा आत्महत्याका घटना रोकथाम गर्न नसक्ने प्रहरीले भाषण दिएर चर्चामा आउनु सुहाउँछ त ?
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६ ०७:३६