गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सबैभन्दा चर्चा र चासोमा रह्यो काठमाडौं महानगरपालिका । देशको राजधानी तथा मुलुकको सबैभन्दा धेरै जनसंख्या भएको महानगर भएकोले मात्र चर्चामा आएको थिएन । र्यापर तथा इञ्जिनियर बालेन्द्र (बालेन) शाहले स्वतन्त्र उम्मेदवारी घोषणा गरेसँगै चर्चा र चासो बढेको थियो ।
युवाहरुमाझ लोकप्रिय बालेनले जित्नेमा भने धेरैजसोले विश्वास गरेका थिएनन् । किनकि, प्रमुख राजनीतिक दलका चर्चित अनुहारहरु चुनावी मैदानमा थिए । तर, ती आशंकालाई गलत सावित गर्दै अन्ततः ठूलो मतान्तरसहित बालेन काठमाडौंको मेयरमा विजयी भए ।
बालेनको विजयीलाई राजनीतिक दलहरूप्रतिको वितृष्णाको रुपमा लिइएको छ । कतिपयले बालेनले पाएको मत ‘नो भोट’को मत भएकोसमेत तर्क गरेका छन् । पटक–पटक राजनीतिक दलका उम्मेदवारलाई जिताए पनि अपेक्षित परिणाम पाउन नसकेर आजित बनेका महानगरवासीले यसपटक स्वतन्त्र उम्मेदवार रोजेको प्रस्टै बुझिन्छ ।
काठमाडौं उपत्यकामा जटिल बन्दै गएको फोहोर व्यवस्थापनको विषयलाई प्रमुख मुद्दा बनाएका बालेनले जनताको मत पाए । उनीसँग महानगरवासीले ठूलो अपेक्षा गरेका छन् । यद्यपि, ती अपेक्षा पूरा गर्न उनले सुरुदेखि नै चुनौतीको सामना गर्नुपर्यो । महानगरको कार्यपालिकाभित्रै उनलाई वडाध्यक्षहरुले एक्ल्याउने प्रयास गरे/गरिरहेका छन् ।
मेयरको कार्यभार सम्हालेलगत्तै फोहोर व्यवस्थापनमा लागेका उनले विभिन्न अवरोध सामना गर्नुपर्यो । फोहोर व्यवस्थापन गर्ने बञ्चरेडाँडा र सिसडोलका स्थानीयको निरन्तर अवरोधका कारण फोहोर उठ्न नसक्दा उनी आलोचित बने । यद्यपि, लामो प्रयास र पटक–पटक स्थानीयसँगको सम्झौतापछि फोहोर उठ्न थालेको छ ।
यसलगत्तै उनले महानगरभित्र अनधिकृतरुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरेका छन् । बेसमेण्ट पार्किङसहितको भवन बनाउने अनुमति लिएका व्यापारिक कम्प्लेक्सहरुले त्यसविपरीत संरचना बनाएर व्यापार गरिरहेका थिए । पार्किङ सडकपेटीमै गरिँदा सडकमा सवारी र पैदलयात्रीले सास्ती बेहोर्नुपरेको थियो । त्यस्तो संरचना हटाएर पार्किङको व्यवस्था गर्न महानगरले ३५ दिने सूचना जारी गरे पनि बेवास्ता गरेनन् ।
अन्ततः ३५ दिने सूचनाको म्याद सकिना साथ मेयर बालेन आफैं अघि बढेर त्यस्ता संरचना हटाउने काम सुरु गरेका छन्, जुन प्रशंसानीय छ । मंगलबार नयाँबानेश्वर क्षेत्रका कम्प्लेक्सहरुमा निर्माण गरिएका अनधिकृत संरचना हटाएको महानगरले बुधबार सुनधारास्थित काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेसमा पनि डोजर चलाएको छ ।
मेयर बालेनले अनधिकृतरुपमा निर्माण गरिएका सबै संरचना हटाउने प्रतिबद्धता जनाएका छन् । उनले कानुन सबैका लागि बराबर भएको भन्दै महानगरबाट अनुमति नलिई निर्माण गरिएका तथा नक्सा पास गर्दा दिइएको अनुमतिभन्दा विपरीत प्रयोजनका लागि प्रयोग गरिएका संरचना हटाइछाड्ने प्रतिबद्धता जनाएका छन् । मेयर बालेनको यो अभियान अति आवश्यक छ ।
उपत्यकामा जथाभावी संरचना बनाएर सर्वसाधारणलाई सास्ती दिने कार्य हुँदै आए पनि महानगरले कारबाही गर्न सकेको थिएन । मेयर बालेनले यसविरुद्ध ‘एक्सन’ लिन गरेको निर्णय स्वागतयोग्य छ । यस्ता संरचना हटाए उपत्यकाको फुटपाथमा देखिएका समस्या र पार्किङको समस्या धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । त्यसैले मेयर बालेनलाई यो अभियानमा सबैले साथ दिन आवश्यक छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ १९:३०