हामीलाई थाहा छ, समयको गतिसँगै समाज परिवर्तन भइरहेको हुन्छ । सूचना प्रविधिको तीव्र विकासले झन् परिवर्तनको गति बढाएको छ । केही वर्ष, केही महिना, केही हप्ता, केही दिन, केही घण्टा, केही मिनेट होइन केही पलमै परिवर्तन हुनसक्ने अवस्था सूचना प्रविधिले सिर्जना गरेको छ । परिवर्तन व्यक्तिको सोचमा, उसको व्यवहारमा देख्न सकिन्छ । त्यसको प्रभाव समाजमा झल्किरहेको हुन्छ ।
यही सन्दर्भमा समाजमा हुने अपराधको स्वरुप पनि निरन्तर परिवर्तन हुँदै आएको छ । सूचना प्रविधिको विकासले अपराधको स्वरुप र प्रवृत्ति परिवर्तन गर्न थप बल पुगेको पछिल्ला घटनाक्रमहरुले पुष्टि गर्छ ।
यसरी अपराधका स्वरुप र प्रवृत्तिमा आएको परिवर्तनले समाजमा चुनौती थपिँदै गएको छ । नयाँ–नयाँ स्वरुपका आपराधिक गतिविधिहरु बढ्दै जाँदा यसलाई नियन्त्रण गर्ने चुनौती थपिएको हो । यसप्रति सरोकारवालाहरुको चासो पनि बढ्दै गएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा आयोजित ‘उपत्यका अपराध अनुसन्धान समीक्षा गोेष्ठी’का वक्ताहरुले अपराधका स्वरुप र प्रवृत्तिमा आएको परिवर्तनप्रति चासो व्यक्त गरे ।
बैठकमा सहभागी गृहमन्त्री बालकृष्ण खाणले अपराधका संख्या बढिरहेको र अपराधको स्वरुप र प्रवृत्तिमा पनि ठूलो परिवर्तन आइरहेको बताए । नयाँ प्रविधिका कारणले अपराधका घटना वृद्धि हुँदा थप जटिलता थपिरहेको उल्लेख गर्दै उनले यसतर्फ राज्यको ध्यान गएको दाबी गरे ।
महान्यायाधिवक्ता खम्मबहादुर खातीले नयाँ घटना हुने अवस्थामा त्यसको अनुसन्धानका लागि विशेषरुपमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले अपराध नियन्त्रणको चुनौतीलाई सामना गर्न राज्यको प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
साइबर क्राइम र आर्थिक अपराधलगायतका जघन्य अपराध नियन्त्रणमा नयाँ नीतिको आवश्यकतासमेत उनले औँल्याए । गृहसचिव टेकनारायण पाण्डेले अपराधको स्वरुप बदलिएका कारण चुनौती बढी थपिएको उल्लेख गरे । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि क्षमता विकास र प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
सरोकारवालाहरुको यी भनाइले पनि अपराधको बदलिँदो स्वरुपले चुनौती बढाउँदै लगेको प्रस्ट हुन्छ । प्रविधिको विकासलाई रोकेर रोक्न सकिने अवस्था छैन, त्यो जायज पनि छैन । सकारात्मक प्रयोजनका लागि विकास गरिएको प्रविधिलाई नै दुरुपयोग गरी आपराधिक गतिविधि बढिरहेका छन् । यसरी बढ्दो अपराधलाई नियन्त्रण र न्यूनीकरण गर्न त्यहीअनुसारको नीति, जनशक्ति र प्रविधिको प्रयोग गर्नु आवश्यक छ ।
त्यसैले आवश्यक ऐन कानुन, नीति, नियम तत्काल निर्माण गरी अपराध नियन्त्रणमा खटिने निकायलाई प्रविधिमैत्री बनाउन आवश्यक छ । प्रविधिलाई सही उपयोग गर्नसके त्यसबाटै आपराधिक कार्यहरु नियन्त्रणमा सहज हुन्छ । अपराधमा नियन्त्रणमा खटिने जनशक्तिको दक्षता पनि बढाउँदै लैजानु पर्दछ ।
अर्कोतर्फ यस्ता अपराधका शृंखलाहरु न्यूनीकरण गर्न समाजमा साक्षरता बढाउन आवश्यक छ । सूचना प्रविधि, यसको प्रयोगबाट हुने आपराधिक गतिविधि तथा यसबाट बच्ने उपायहरुका बारेमा समाजका हरेक वर्गलाई सचेत गराउनु त्यत्तिकै जरुरी छ । यसरी सचेतना बढाउन सके केही हदसम्म अपराध न्यूनीकरणमा सहयोग पुग्ने निश्चित छ ।
नयाँ–नयाँ प्रविधिको विकाससँगै नयाँ स्वरुपको अपराध घट्नसक्नेतर्फ सरोकारवाला सबै चनाखो बन्नुपर्छ । त्यही अनुसारको तयारी र दक्षता बढाउँदै लैजानसके थपिँदै गएको चुनौतीको सामना गर्न सहज हुनेछ । यसतर्फ सरकार र सरोकारवाला सबै सचेत भई लाग्नुपर्ने बेला आएको छ । अन्यथा, यसबाट समाज र राष्ट्रले ठूलो क्षति बेहोर्नुपर्ने निश्चित छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९ ११:०६