काठमाडौं– रुकुमपूर्वमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ भने बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी भए पनि अहिलेसम्म एक किलो आलु पनि बिक्री गर्न नसकिएको त्यहाँका किसानले बताएका छन् ।
अहिले उक्त गाउँपालिकाको तक, सेरा, दमचन, घुम्लिबाङ, मयाङ, गर, चारगाउँलगायत अधिकांश ठाउँमा फलेको आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको वडा–१० निवासी चेबाङ कृषक समूहकी सदस्य सातमाया बुढाले बताए । त्यहाँ चक्लाबन्दी कार्यक्रममार्फत समूहले धेरै आलु उत्पादन गरेपछि बजारमा पठाउन नसक्दा आफूहरू समस्यामा परेको उनले गुनासो गरे। अहिले आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको सदस्य बुढाको भनाइ थियो ।
बर्खाको समय भएका कारण पानी पर्ने भएकाले बारीमै प्लाष्टिकले छोपेर आलु राख्दा पानी परेर कुहिन सक्ने र बारीमै खुलारूपमा राखेको आलुको स्वाद पनि बिग्रने उनले बताए । “अहिले पुथा उत्तरगङ्गा गाउँपालिकाको सबै ठाउँमा आलु खन्ने काम धमाधम चलिरहेको छ ।” सदस्य बुढाले भने, “आलु खनेर बारीमा थुपारेका छौँ, उत्तरगङ्गा नदीमा पुल नहुँदा पनि हामीले यहाँ उत्पादन गरेको आलु जिल्ला सदरमुकाम रहेको रुकुमकोटको बजारसम्म पु¥याउन पनि सकेका छैनौँ ।” उत्तरगङ्गा नदीमा पुल नहुँदा सवारी साधन वारपार गर्न नसक्ने र तकसम्म गाडी जान नसक्दा र आफूहरुले आलु बोकेर उत्तरगङ्गा नदी पार गर्न नसक्दा आलु घर तथा बारीमै थन्क्याएर राख्नुपरेको छ ।
एकीकृत कृषि तथा पशुपक्षी विकासरुकुमपूर्वको कार्यालयका प्रमुख पिताम्बर बस्नेतले आलुको बजार व्यवस्थापनमा भौगोलिक विकटताले केही समस्या भए तापनि किसानले मूल्य निर्धारण गर्न नसक्दा समस्या भएको बताए । किसानले आफूले उत्पादन गरेको आलुको मूल्य बजारको मूल्यभन्दा चर्को भन्ने गरेका कारण पनि त्यहाँको आलु बजारसम्म पुग्न नसेको उनले भने ।
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९ १४:०२