काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनको उम्मेदवार छान्न मापदण्ड तय गरेको छ।
शनिबार च्यासलस्थित एमाले मुख्यालयमा बसेको बैठकले उम्मेदवार छान्न मापदण्ड तय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेको छ। त्यसको लागि उम्मेदवारहरूको सिफारिस प्रक्रिया र छनोट मापदण्ड एमालेले टुंगो लगाएको हो।
जिल्लाको सम्बन्धित प्रतिनिधि निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधि सभाको उम्मेदवार सिफारिस गर्ने निर्णय कमिटीले गरेको छ। एउटामात्रै निर्वाचन क्षेत्र रहेकाहरूले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको गुरूङले बताए।
यस्तै, प्रदेशसभा सदस्यको उम्मेदवारको सिफारिस पनि सोही सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्ने उनले जानकारी दिए।
त्यस्तै, सो सिफारिसमा जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो अन्य राय भए सो समेत उल्लेख गरी सिफारिस गर्न भनिएको छ।सिफारिस गरिएका उम्मेदवारहरूको अन्तिम निर्णय भने केन्द्रले गर्ने उनले बताए।
‘प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएका मापदण्ड पूरा गरेका कम्तीमा एक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ,’ उनले भने, ‘सिफारिस, सिफारिस मात्रै हो। अन्तिम निर्णय होइन। निर्णय नभएसम्म सिफारिसमा परेका कुनै पनि व्यक्तिले आफ्नो उम्मेदवारी पक्का भएजसरी व्यवहार गर्न मिल्दैन।’
यस्तै, समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रस्ताव पठाउँदा सन्तुलन, समावेशीता, र अवसरको न्यायोचित समेतलाई ध्यानमा राखेर सम्बन्धित जिल्ला कमिटीको बैठकबाट सिफारिस गर्ने उनले बताए।
यस्तै, त्यस सिफारिसमा सम्बन्धित प्रदेश कमिटीले आफ्नो अन्य राय भए सो उल्लेख गरी सिफारिस गर्न भनिएको छ।यो सिफारिस गर्ने अन्तिम मिति भदौ २२ गते हुने गुरूङले बताए।
मापदण्डमा पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीविरूद्धको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता, निर्वाचनको कानुन बमोजिमको योग्यता पूरा भएको हुनुपर्ने उनले बताए।यस्तै, आज बसेको बैठकले राजनीतिक प्रतिवेदनमाथि ९ समूहमा छलफल गरी पारित समेत गरेको छ।