काठमाडौं — विभागीय टिम एपीएफ क्लबले तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा आइतबार भएको फाइनलमा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन भएको हो ।
उपाधि जित्ने क्रममा एपीएफले न्यु डायमण्डको चुनौती २५–२०, २५–२३ र २५–१८ ले पाखा लगायो । यससँगै एपीएफले लगातार दोस्रो वर्ष न्यु डायमण्डलाई हराएर उपाधि जितेको छ ।
गत संस्करणमा पनि एपीएफले आयोजकलाई हराएर च्याम्पियन बनेको थियो । उपाधिसँगै एपीएफले ४ लाख १ हजार १ रूपैयाँ प्राप्त गरेको छ । न्यु डायमण्डले ३ लाख १ हजार १ सय रूपैयाँमा चित्त बुझायो । प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो भयो । त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको हो ।
आर्मीविरुद्ध पुलिसले २५–२२, २५–९ र २५–१२ को सेटमा जित निकाल्यो ।
तेस्रो भएसँगै पुलिसले १ लाख ५१ हजार १ सय १ रूपैया प्राप्त गरेको छ । चौथो भएको आर्मीले ५१ हजार १ सय १ रूपैयाँ प्राप्त ग¥यो । न्यु डाइमण्ड स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गरेका थिए ।
एपिएफकी सरस्वती चौधरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले रु २१ हजार पुरस्कार प्राप्त गरिन् भने यस्तै आयोजक न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, एपिएफकी हीरा केसी उत्कृष्ट ब्लकर, न्यू डायमण्डकी अरुणा शाही उत्कृष्ट सेटर, न्यू डायमण्डकै सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स, पुलिसकी कोपिला राना उत्कृष्ट क्विकर तथा एपिपएफका महेशबहादुर चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनीहरूले जनही रु सात हजार १०१ पुरस्कार प्राप्त पाएका थिए । विजेता टोली र खेलाडीलाई सांसद कृष्णगोपाल श्रेष्ठ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्जकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए ।