काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आइतबार सम्पन्न दुई खेलमध्ये एक खेल नतिजाबिहीन र एक खेल हार–जितसहित सम्पन्न भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा फ्रेन्डस् क्बलले थ्रीस्टार क्लबलाई पराजित गरेको छ भने दोस्रो खेलमा सरस्वती युथ क्बल र ब्रिगेड ब्वाइज क्बलबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
बलियो टिम थ्री स्टारविरुद्ध फ्रेन्ड्सलाई जित दिलाउन ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गर्दै १—० ले जित दिलाए । कार्मोले खेलको १३ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाए । विश्व अधिकारीको फ्रिकिक बलमा उनले हेड गोल गरेका थिए । वाग्नेर नेपाली लिगमा गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी समेत बनेका छन् ।
फ्रेन्ड्ससँग पराजित भएसँगै थ्री स्टारले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्सको यो पहिलो जित हो । अघिल्ला ५ खेलमा फ्रेन्ड्सले ३ बराबरी र २ हार व्यहोरेको थियो । फ्रेन्ड्सले ६ खेलमा ५ अंक जोडेको छ । फ्रेन्ड्स लिगको ११ औं स्थानमा उक्लिएको छ ।
त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाईज क्लबसँग गोलरहित बराबरी खेल्दै सरस्वतीले लिगमा पहिलो अंक जोडेको हो । अघिल्ला पाँच खेलमा पराजित सरस्वतीले छैटौं खेलमा आएर एक अंक जोडेको हो ।
सरस्वतीले पहिलो अंक जोडेको खेलमा ब्रिगेडले पाएको अवसर सदुपयोग गर्न सकेन् । बल पोजिसनमा पकड राखेपनि ब्रिगेडका स्ट्राइकर चम्कन सकेनन् । खेलको ४० औं मिनेटमा शिशिर लेखिको प्रहार क्रसबारमाथिबाट बाहिरियो । यस्तै ४९ औं मिनेटमा रोशन राना मगरको प्रहार आकाशियो । खेलको ६२ औं मिनेटमा ब्रिगेडका जया गुरुङ गोल गर्न चुके । डिबक्स भित्र प्राप्त बललाई अनमार्क रहेका उनले क्रसबारमाथी प्रहार गरे ।
सरस्वतीले पनि केहि गोलको अवसर खरे फाल्यो । खेलको दोस्रो मिनेटमै विदेशी खेलाडी कजिम बुसारीको ग्रासबल ब्रिगेडका गोलरक्षक विशाल सुनुवारले पन्च गर्दै बाहिर पठाएका थिए । खेलको ७९ औं मिनेटमा तिर्थ बस्नेतले गोलको सुन्दर मौका गुमाए । उनको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलमा सरस्वतीका मनिष थापा म्यान अफ दि म्याच चुनिए ।
ब्रिगेडसँग बराबरी खेलेपछि सरस्वतीले ६ खेलमा १ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा रहेको छ । ब्रिगेड ६ खेलमा ७ अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।