काठमाडौं – काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै गएराती स्कुटर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक काठमाण्डौकै शंकरापुर नगरपालिका५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् ।
अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराती पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार हुन् ।
दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी सवार जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।
मोटरसाइकलमा पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ ।
बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे ठोक्किएका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९ ११:२८