बागलुङ – तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गरिसके। जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोगे तर पनि उनी अझैँ जोसिला छन् ।
गाउँमा सडक आएपछि उनले अझै १० वर्ष बढी बाँच्न सक्ने बताउछन्। “अहिले गाउँमा मोटर आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नु पर्दैन, यो ठाउँका मान्छेलाई सबैभन्दा दुःख नुन, तेल र चामलको हो, यी सबै ल्याउन बजारमा जानुपथ्र्यो, बिहान उठेर बजारमा गयो भने मध्यरातमा फर्कनुपथ्र्यो”, छन्त्यालले भने, “आजभोलि त बजार जान पनि पर्दैन सकैथोक गाउँमै छ, पहिलाको जस्तो दुःख गर्न नपर्दा अझै १० वर्ष बाँचुलाजस्तो लाग्छ ।”
दशक अगाडि तमानखोलाका गाउँहरूसम्म पुग्ने फराकिला बाटाहरू थिएनन् । स्थानीय बासिन्दा साँघुरै गोरेटोमा पशु चौपाय ओहोरदोहोर गराउनुका साथैँ उकाली–ओराली गर्थे । अहिले ती उकाली–ओलारी गर्ने गोरेटोहरू फेरिएका छन् । गोरेटो बाटो फेरिएसँगै स्थानीयको मन फेरिएको छ, तन फरिएको छ र जीवनशैली नै फेरिएको छ ।
कुनै समय मान्छे ओहोरदोहोर गर्न सकस पर्ने गोरेटोमा अहिले सररर मोटर गुड्छन् । यसरी गाउँमा मोटरबाटो आउला भन्ने स्थानीयवासीले कल्पनासमेत गरेका थिएनन् । तर अहिले गाउँमा दैनिक गाडी गुड्दा दङ्ग छन् । सडकले यहाँको रहनसहन र दैनिकी फेरिँदै छ ।
कतिपय यसलाई देशमा आएको राजनीतिक प्रतिफल मान्छन् त कोही समयले ल्याएको परिवर्तन । “गाउँमा सडक आयो बिरामी भएपछि सहजै अस्पतालसम्म पुग्न सकिन्छ, गाउँलेहरूको धेरैजस्तो समस्या समाधान भएको छ, गाउँमा सडक आउला, यस्तो विकास होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ”, छन्त्याल भन्छन्, “हामी त निकै दुर्गममा छौँ, यस्तो ठाउँमा गाडी आउला, सुविस्ता देला भन्ने लागेको थिएन, तर अहिले यसरी घरै अगाडि सधैँ गाडी गुड्दा अचम्म लाग्छ ।”
उनले बिरामी पर्दा डोकोमा बोकेर अस्पताल पु¥याउने गरेको स्मरण गर्दै सडकले अहिले सामान्य उपचारका लागि टाढा पुग्न नपर्ने बताउछन् । “हाम्रो पालामा कोही मान्छे बिरामी प¥यो भने डोकामा बोकेर अस्पताल पु¥याउनुपथ्र्यो, बाटोघाटो गतिलो थिएन, त्यसरी अस्पताल लैजाँदै गर्दा कतिको बाटैमा मृत्यु भयो, कति निको भएर घर फर्के, अहिले कोही बिरामी पर्दासाथ गाडी बोलायो, गाडीमा हालेर उतिखेरै अस्पताल पु¥याउँछन्, सामान्य उपचार त गाउँमै पनि हुन्छ ।”
तमानखोला गाउँपालिकामा स्थानीय सरकार आएपछि २७ बस्तीमा सडक पु¥याएको छ । यसले स्थानीयवासीलाई खुसी त दिने नै भयो, दैनिकीसमेत फेरिदिएको छ, जीवनशैली फेरिदिएको छ । अब उनीहरूलाई पहिलोको जस्तो कहालीलाग्दो जीवन बिताउनुपर्ने छैन । सडक पुगेपछि अन्य विकासका पूर्वाधार पनि धममाधम निर्माण भइरहेका छन् ।
तमानखोला गाउँपालिका–४ लाम्मेलाका हर्कबहादुर छन्त्याल ७६ वर्ष भए । उनी पनि गाउँमा सडक आएपछि निकै खुसी छन् । विसं २०१८ देखि लामो समयसम्म बुटवलबाट खाद्यान्न तथा नुन बोकेर उपभोग गर्दै आएका छन्त्याल अहिले आफ्नै घर अगाडि ती सामान पाउँदा दङ्ग छन्।
सडक नहुँदा गाउँलेहरूले कैयन समस्या सामना गर्दै आएको सुनाउँदै छन्त्यालले अब दुःखका दिन गएको बताए । गाउँमा घाँस दाउराको भन्दा औषधोपचार र खाना जोहो गर्नु निकै चुनौतीपूर्ण रहेको भन्दै अहिले सबै सुविधा सहजरूपमा लिन सक्ने छन्त्यालको भनाइ छ ।
आफूले मोटर गाडी बुटवल, पाल्पा पुगेर देखेको भन्दै अहिले गाउँका हरेक कुनाकाप्चामा गुड्ने गरेको छन्त्यालले बताए । आफूहरूले खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएको भन्दै छन्त्यालले अब बढी उत्पादन भएको वस्तुलाई बजारसम्म पु¥याउन सहजसमेत बनेको बताउछन् ।
“मैले बटौली नुन लिन जाँदा १७ वर्षको उमेरमा बटौलीमा मोटर देखेको थिएँ, त्यसपछि पाल्पा, तानसेन, वामीटक्सार, खरबाङ, बुर्तिबाङ हुँदै अहिले गाउँ–गाउँमा मोटर पुग्यो, घरबाट निस्किँदा बित्तिकै देख्न पाइन्छ”, उनले भने, “पहिले उत्पादन भएका आलु, सिमीहरूले गाउँभन्दा बाहिर जाँदैनथे, अहिले बढी उत्पादन भयो भने यही गाडी ल्याएर खोज्दै आउँछन्, यसले गर्दा आम्दानी पनि बढेको छ ।”
आलु र सिमी उत्पादनका लागि तमानखोला प्रख्यात मानिन्छ । आधा दशक अगाडिसम्म यहाँ उत्पादित सामग्रीहरू बजार बाहिर जाँदैनथे । सडक थिएन । स्थानीयले बोकेर बजारसम्म पु¥याउन गाह्रो थियो । जब गाउँहरू मोटरबाटोले जोडिए । तब उत्पादित वस्तुले बजार पाउन थाले । कृषकको पनि जीवनशैली सहज बन्दै गयो ।
अब वर्षौँदेखि सडक नहुँदा भोग्दै आएका समस्याहरू विस्तारै समाधान हुने क्रममा छन् । तमानखोलामा स्थानीय सरकार आउनुपूर्व दुईवटा बस्तीमात्रै मोटरबाटोले जोडिएका थिए । अहिलेसम्म आउँदा छवटै वडाका सबै बस्तीमा मोटरबाटो पुगेको छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभान र वडा नं ३ को तमान गाउँ स्थानीय सरकार आउनुपूर्वनै मोटरबाटोले जोडिएका थिए ।
म्याग्दीसँग सीमा जोडिएको तमानखोला धार्मिक पर्यटकीय हिसाबले पनि अत्यन्तै सम्भावना बोकेको छ । चर्चित सोलेडाँडा, बराहताललगायतका पर्यटकीय गन्तव्यसम्म गाउँपालिकाले सडक पु¥याएको छ । सडकका कारण पर्यटकीयस्थलमा समेत आन्तरिक पर्यटक बढ्न थालेका छन् । पालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि तमान, लाम्मेला, नर्जाखानी, खुङ्खानी, भयरभोङ्गा, स्याउलालगायतका ठाउँमा वर्षात्को समयमा सिधा यातायात सञ्चालन हुनसकेको छैन ।
यी ठाउँहरूमा सिधा यातायात सञ्चालनका लागि बोङ्गादोभानमा मोटरेवल पुल निर्माण हुँदै छ । यहाँ पुल निर्माणपछि पालिकाको केन्द्रदेखि सबै वडा र बस्तीमा सिधा यातायात हुनेछ । गत वर्षसम्म बुर्तिबाङ बजारबाट पालिकाको केन्द्रसम्म पनि वर्षात्को समयमा सिधा यातायात हुँदैनथ्यो । ढोरपाटन नगरपालिका–३ हुँद्राफेँदी र तमानखोला गाउँपालिका वडा नं १ बालिभाङमा दुईवटा मोटरेवल पुल निर्माण भएपछि अहिले बाह्रै महिना सिधा यातायात सञ्चालन हुन्छ ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जिल्लामा सबैभन्दा दुर्गमको पालिका तमानखोला भएको हुँदा विकास निर्माणमा निकै चुनौती भएको बताए । चुनौतीका बाबजुद सबै बस्तीमा सडक पु¥याउन सफल भएको बताए । भौगोलिक विकटता र छरिएर रहेको बस्तीका कारण सडक सञ्जालले जोड्न केही ढिला भए पनि पाँच वर्षमा सबै बस्तीमा मोटरबाटो पुगेको उनी बताउछन् ।
रासस
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९ ११:५८