काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बरिष्ठ संगीत संयोजक (एरेन्जर) जुजु गुरुङलाई सम्मान प्रदान गरिएको छ । नेपाली लोकदोहोरी तथा संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत गुरुङलाई सम्मान गरिएको हो । तमू ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा भएको ‘तमु ल्होसार–२०७६’को अवसरमा उनलाई सम्मान गरिएको हो ।
कार्यक्रममा गुरुङसँगै सांसद पार्वत गुरुङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, नेपाली सेनाका प्रमुख सेनानी डा. अनु गुरुङ, डा. टेकबहादुर गुरुङ, सोनी गुरुङ लगायत १३ जनालाई सम्मान गरिएको थियो । वरिष्ठ संगीत संयोजक गुरुङ नेपालको ख्यातिप्राप्त व्यक्तित्व हुन् । गुरुङले संगीत सयोजन गरेका ‘मिर्मिरेमा भाले बासेको’, ‘छिनको छिनैमा’, ‘यो मायाको संसार विचित्र’, ‘ससुरालीमा’, ‘खैरेनीमा गेट’, ‘हङकङ आइडीले’, ‘फूलमा भमरा’लगायत दर्जनौँ गीत चर्चित छन् ।
०५० को दशकतिर आइपुग्दा जुजु वाद्यवादन छाडेर संगीत संयोजनतर्फ मोडिएका थिए । यसमा सुरुदेखि नै उनलाई सफलता मिल्यो । उनलाई खोज्नेको ताँती बढ्यो । पुराना दिन सम्झिँदै गुरुङले भने, ‘एकै दिनमा ५–६ वटासम्म अडियो गीतको संगीत संयोजन गरेका संगीत संयोजक गरेँ त्यो बेला ।’
गुरुङले २० हजारभन्दा बढी गीतमा संगीत संयोजन गरिसकेका छन् । जुजुले संगीत संयोजन गरेका गीत गाएर धेरै गायक–गायिकाले चर्चा र वाहवाही बटुलेका छन् । संगीत संयोजकबाहेक उनको अर्को परिचय पनि छ । उनी गायक पनि हुन् । ‘काठेपुलैमा.’, ‘धादिङ सल्यानटार’, ‘दुवाली थुनेको’लगायतका गीतमा स्वर दिएका छन् ।
उनी संगीतको अथाह दुनियाँमा आफूले धेरै सिक्न बाँकी भएको बताउँछन् । गीतसंगीत क्षेत्रका समकालीन नजरमा जुजु गहिरो संगीत चेत भएका प्रतिभाशाली व्यक्तित्व मानिन्छन् । तर, आफूले अँगालेको पेशाका कारण उनी ओझेलमा छन् किनकि संगीत संयोजन पर्दा पछाडिको काम हो । गुरुङले हालै आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड–२०७६ मा माया गर्थे मैले बोलको गीतबाट उत्कृष्ट संगीत संयोजकको अवार्ड पाएका थिए ।