महिलाहरूको महान पर्व हरितालिका (तीज) नजिकै आइपुगेको छ । यही भदौ १४ गते तीज पर्व परेको छ । तर, सहरमा मात्र होइन गाउँमासमेत केही दिन पहिलेबाट तीज लागिसकेको छ । दर खाने कार्यक्रम भइरहेका छन् । दिदीबहिनीहरू जमघट गरेर ‘रमाइलो’ गरिरहेका छन् ।
तीजलाई मौलिक पर्वका रूपमा लिइन्छ । खासगरी हिन्दू धर्म मान्ने महिलाहरू यो पर्व मनाउँछन् । विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू आमाजू, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने पर्वका रूपमा तीज मनाइन्थ्यो । पोइली घरमा वर्षभरि भोग्नुपरेका पीडा वा खुसीलाई गीतका माध्यमबाट व्यक्ति गरिन्थ्यो ।
श्रीमान्सँगका गुनासा, सासूसँगका गुनासा गीतमै अभिव्यक्त गरिन्थ्यो । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेकोेजस्ता कुरा तीज गीतमा हुन्थे ।परम्परादेखि नेपाली नारीले तीज पर्वलाई रमाइलो गरी मनाउँदै आएकाले यो पर्व नेपाली दिदीबहिनीहरूका लागि महत्वपूर्ण मानिन्छ । रातो सारी पहिरिएर सुखदुःखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाँच्ने पर्वका रूपमा तीजलाई लिइन्छ ।
आफ्ना साथीसंगीसित नाचगान गर्दै सुखदुःख साटासाट गर्दा महिलाले वर्ष दिनभर भोगेको आफ्नो व्यथा हलुंगो भएको महसुस गर्छन् भन्ने मान्यतासमेत राखिन्छ ।तर, पछिल्लो समय तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको छ ।
तीजको संस्कार हराउँदै गएको छ । नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिक स्वरूप पँरै हराउने अवस्था देखिएको छ । गायिकासित नारिएर गायक पनि तीज गीत गाउँदै रमाउन थालेका छन् भने परम्परागत लोकलय र वाद्यवादन शैली पनि पँरै विस्थापित हुने हो कि भन्ने चिन्ता बढेको छ ।
तीजको साँस्कृतिक पक्षभन्दा बढी व्यापारिक पक्ष हाबी भएको छ । तीज मौलिक होइन, विकृत हुने खतरा बढेकोे छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा झपक्कै गरगहना र महँगा साडी लगाएर पाश्चात्य शैलीका गीतमा नाच्दै रमाइरहेका महिलालाई देख्दा ग्रामीण भेगका वनजंगल र मेलापात गर्नुपर्ने विपन्न महिलालाई हिनताबोधसमेत हुने अवस्था पैदा भएको छ । धार्मिक आस्था र सामाजिक सद्भाव झल्कनुपर्ने तीज पर्वलाई हुँदा खाने र हुने खाने वर्गको वर्गीय पहिचान हुने चाड बनाइँदै लगिएको छ ।
तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ । आजभोलि तीजका गीत सुन्दा तीजका हु्न् कि रत्यौलीका छुट्याउनै गाह्रो हुने अवस्था आएको बँढापाका बताउँछन् ।
चाडपर्वको नाममा पश्चिमी संस्कार हाबी भएको जानकारहरूको भनाइ छ ।
चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो देखिन्छ । तीज मनाउन महिलाले अरूको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने भएको छ ।कुनै तीज गीत परिवारसँगै बसेर हेर्न र सुन्न नसकिने खालका छन् । उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय त्यति नै अराजक हुँदा तीज गीत नै हो भन्न सकिने अवस्था छैन ।
यसले तीजको संस्कृतिलाई विकृत बनाइरहेको छ । गहना प्रदर्शन गर्ने पर्व बन्न थालेको छ । तीजका नाममा फजुल खर्च बढिरहेको छ । यी तमाम विकृति र विसंगतिलाई अत्य गर्दै तीजको मौलिकता बचाइराख्नुपर्छ । परम्पराका नाममा हुने गलत कुरालाई अत्य त्यागे पनि यसको साँस्कृतिक, सामाजिक पक्षलाई भने बचाइराख्नुपर्छ । यसको गरिमालाई ओझेल पर्न दिनु हुँदैन ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९ १८:१०