काठमाडौं - नेपालले केन्यालाई तेस्रो टी-२० आईमा ४ विकेटले पराजित गरेको छ । यससँगै पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ ।
आइतबार नैरोबीमा घरेलु टोली केन्याले दिएको १५६ रनको लक्ष्य नेपालले १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै टी-२० आईमा डेब्यु गरेका अर्जुन साउदले ३५, रोहित कुमार पौडेलले २९ र पवन सर्राफले २० रन जोडे । आदिल आलमले १६ रन बनाए ।
लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गरेको थियो । डेब्युटान्ट अर्जुन साउद र पवन सराफले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरे । तर लगातार तेस्रो खेल खेलेका पवन सर्राफले ठूलो स्कोर बनाउन सकेनन् । उनी १२ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाएर आउट भए ।
चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरीले ५ बलमा ६ रन मात्र जोडे । यसअघिका दुई खेलमा पाँचौ नम्बरमा ब्याटिङ गरेका दीपेन्द्र लामो समयपछि चौथो स्थानमा पर्किएपनि लामो समय क्रिजमा टिक्न सकेनन् । यसअघि चौथो नम्बरमा ब्याटिङ गरेका रोहितकुमार पौडेलले भने आज पाँचौ नम्बरमा ब्याटिङ गरे ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९ ०९:११