देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय अनेक उतारचढावबाट गुज्रिरहेको छ । बौद्धिक, प्राज्ञिक, दक्ष जनशक्ति उत्पादनको प्रमुख थलोका रुपमा रहेको त्रिवि अहिले आफैं थला परिरहेको छ । भद्रगोल बनेको छ ।
अनेक राजनीतिक दाउपेचको मारमा परेको त्रिवि घिसिपिटी गरिरहेको छ । त्रिवि कहिले विद्यार्थी संगठनको झडपस्थल बन्छ, कहिले प्राध्यापकमाथि आक्रमणमा उत्रिन्छन् त्यहीँका विद्यार्थी । भद्रगोल व्यवस्थापन र राजनीतिक दाउपेचको केन्द्र बन्दा त्रिविको शाख गुम्न थालेको छ ।
पछिल्लो समय त्रिविका पदाधिकारीले सुरक्षा थ्रेट रहेको भन्दै निजी सुरक्षाकर्मी माग्न थालेका छन् । योभन्दा लाजमर्दो विषय के हुन सक्छ ? प्राज्ञिक व्यक्ति उत्पादन गर्ने थलोका पदाधिकारी त्यहीँभित्रबाट असुरक्षित महसुस गर्नु हाम्रो प्राज्ञिक क्षेत्रकै गम्भीर विषय हो ।
उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविका पदाधिकारीलाई असुरक्षा भएको भन्दै गृह मन्त्रालयसँग निजी सुरक्षा अधिकारी (पिएसओ)को नै माग गरेका छन् । गत शुक्रबार आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिविका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारले निजी सुरक्षा अधिकृत (पिएसओ) माग गरे ।
त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुनले निषेध गरेका शब्दहरू प्रयोग गरी मोबाइलमा सन्देश पठाउने तथा कार्यालय प्रवेशमा अवरोध गर्ने काम निरन्तर गरिएको उनीहरुको भनाइ छ ।
दैनिक कार्यालय र सार्वजनिक काममा उपस्थित हुँदासमेत भौतिकरूपमा नै आक्रमण हुने सम्भावना रहेकाले त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलाई दुई÷दुईजना निजी सुरक्षा अधिकृत (पिएसओ)को व्यवस्था गरेर शान्तिपूर्ण रूपमा कामकारबाही गर्ने वातावरण मिलाइदिन भनिएको छ ।
आाइतबार त्रिवि परिसरमा पत्रकार सम्मेलन गर्दै त्रिवि पदाधिकारीहरूले तालाबन्दी र तोडफोड निरन्तर गरिएका कारण आफूहरूलाई काम गर्नै कठिन भएको र अप्रिय निर्णय लिनुपर्ने अवस्था सिर्जना भएको बताएका थिए ।
त्रिविका उपकुलपतिको कार्यालय, रेक्टर, रजिस्ट्रार, व्यवस्थापन संकायको डीन र कृषि डीन गरी छ वटा कार्यालयमा तालाबन्दी जारी छ । नेपाल विद्यार्थी संघ त्रिविले उपकुलपति बाँस्कोटालाई हुबहु प्रश्नपत्र निकाल्ने कार्यमा संग्लग्नहरुको नाम सार्वजनिक गर्न भन्दै मुख्य माग राखेको छ । त्रिविको प्रश्नपत्रमा हुने लापरवाही बन्द गर्नुपर्ने, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, परीक्षाफल समयमै प्रकाशन गर्नुपर्ने, बिबिएको प्रश्नपत्रमाथि छानबिनका लागि पूर्वप्राध्यापकहरूलाई नियुक्त गर्नुपर्ने नेविसंघको माग छ ।
नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले भने त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गर्ने क्रियाकलाप खेदजनक भएको बताएको छ । नेविसंघले त्रिविमा लगाएका ताला फोड्नुपर्ने, शैक्षिक संस्थालाई बन्धक बनाउन नहुने र उच्छृंखल गतिविधि गर्न नहुने भन्दै नेविसंघविरुद्ध उत्रिएको थियो ।
प्रजातान्त्रिक प्राध्यापक संघ भने विद्यार्थीको पक्षमा उभिएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय देशको उच्च शिक्षा प्रदान गर्ने सबैभन्दा पुरानो ठूलो प्रतिष्ठित प्राज्ञिक संस्था भएको जनाएको छ । तर, त्रिविका वर्तमान पदाधिकारीहरुले विश्वविद्यालयलाई राजनीतिक नेतृत्वको संरक्षणमा बन्धक बनाइएको संघको आरोप छ । त्रिविका कुनै पनि गतिविधि शैक्षिक गुणस्तरको पक्षमा नरहेको संघको आरोप छ ।
जसले जे भनोस्, त्रिवि लामो समयदेखि राजनीतिक दाउपेचको केन्द्र बनेको छ । दल र संगठनहरुले आफ्नो स्वार्थसिद्धिका लागि त्रिविलाई प्रयोग गर्ने गरिरहेका छन् । राजनीतिक नेतृत्वले फरक–फरक रुपमा त्यहाँका पदाधिकारीलाई बोक्ने गरेका कारण समस्या भएको छ । अब त्रिविको समस्या तत्काल समाधान गर्नुपर्छ । शैक्षिक धरोहर र प्राज्ञिक जनशक्ति उत्पादनको केन्द्रलाई खण्डहर बनाउन हुँदैन ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९ ०९:१६