एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराबरुपमा प्रभावित पारेको बताउँदै अन्तराष्ट्रिय सहयोगको लागि अपिल गरेको छ ।
उनले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गरेको जनाइएको ।
बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौँ लाख भएकाले उनीहरुको उद्वार, पुनस्र्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै यसका लागि उनले सबै सँग सहयोग गर्न भनेका छन् ।
यहाँका कैयौँ प्रान्तमा बाढीले गरेको क्षति न्युनिकरणका लागि सरकारले प्रयत्न गरिरहेको भए पनि सबै नागरिकलाई बास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन ।
पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ । यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । यहाँ गएको हप्तादेखि अविरलरुपमा वर्षा भएको छ ।
पाकिस्तानी अधिकारीका अनुसार यहाँका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी र त्यसपछि आएको पहिरोबाट बढी मात्रामा प्रभावित छन् ।
बाढी र पहिरोले सडक बगाएको, पशु चौपाया बगाएको, पुल भत्काएको तथा ठूलो क्षेत्रमा लगाएको बाली पनि नष्ट गरिदिएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९ १५:१९