अस्ट्रेलिया- अस्ट्रेलियाले १० हजारभन्दा बढी निःशुल्क नर्सिङ अध्ययन गराउने भएको छ । स्वास्थ्य क्षेत्रमा नर्सलगायत कर्मचारीको अभाव चर्कंदै गएपछि भिक्टोरिया राज्य सरकारले यस योजनाको घोषणा गरेको हो ।
अस्ट्रेलियाको सबैजसो राज्यमा अहिले व्यापक नर्स कर्मचारीको अभाव भएको छ । विशेषगरी कोरोना महामारीपछि केन्द्र तथा राज्य सरकारले स्वास्थ्य क्षेत्रमा कर्मचारी अभावको सामना गर्दै आएका छन् ।
जनसंख्याको हिसाबले दोस्रो ठूलो राज्य भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले हजारौं नयाँ विद्यार्थीलाई नर्सिङ पढ्न तथा नर्सिङ अध्ययन गरिसकेकालाई विशेष विषय लिएर अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले २ सय ७० मिलियन डलर (करिब २ अर्ब रुपैयाँ) को योजना सार्वजनिक गरेका हुन् । ‘महामारीका कारण स्वास्थ्य क्षेत्र समस्यामा परेकाले कडा परिश्रम गरिरहेका कर्मचारीलाई सहयोग गर्न हामीले यो कार्यक्रम ल्याएका हौं,’ एन्ड्रुजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योजनाअन्तर्गत नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिका रूपमा करिब ९ हजार डलरका दरले उपलब्ध गराइने र अध्ययन सकेर २ वर्ष सरकारी क्षेत्रमा काम गरिसकेपछि थप ७ हजार ५ सय उपलब्ध गराइने जनाइएको छ । यस योजनाअन्तर्गत दुई वर्षको अवधिमा १० हजारभन्दा बढीलाई स्वास्थ्य क्षेत्रमा आकर्षित गर्ने राज्य सरकारले लक्ष्य लिएको छ ।
त्यसैगरी, इन्रोल्ड नर्सका रूपमा काम गरिरहेका नर्सलाई रजिस्टर्ड नर्स अध्ययनका लागि ११ हजार डलर सहयोग दिने जनाइएको छ । त्यस्तै नयाँ नर्स प्रयाक्टिसनरलाई १२ हजार डलर १ सय उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ । अस्ट्रेलियामा नर्स प्रयाक्टिसनरलाई नर्सिङ क्षेत्रको सबैभन्दा दक्ष स्वास्थ्यकर्मी मानिन्छ । उनीहरूलाई सीमित रूपमा चिकित्सकजस्तै औषधिको प्रेस्क्रिप्सन लेख्ने अधिकार दिइएको हुन्छ ।