काठमाडौं- प्रर्याप्त खाद्यान्न नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ ।
अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिसबाहेक अन्य नियमित गरिने बिक्री वितरण अर्का सूचना नहुँदासम्मका लागि स्थगित गरिएको निमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले बताए ।
जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात कम भएपछि जिल्लाभरि बिक्री वितरण बन्द गरिएको हो । ठेकेदारले सबै चामल ढुवानी नगर्दा चामल खाद्यान्न आपूर्तिमा समस्या देखिएको हो।
सिमकोट डिपोका लागि गत आर्थिक वर्षको थप चार हजार र ढुवानी हुनु बाँकी ६ सय क्विन्टल पर्ने ४ हजार ५०० क्विन्टल चामल समयमा ढुवानी हुन नसक्दा यो समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाका निमित्त प्रमुख आचार्यले बताए ।
चालु आर्थिक वर्षमा कम्पनीको सिमकोट शाखाका लागि स्थलमार्गबाट चार हजार र हवाईमार्गबाट १० हजार क्विन्टल गरि १४ हजार क्विन्टल चामल स्वीकृत भएको छ ।
जिल्लामा मनाइने विभिन्न स्थानीय चाडपर्वसँगै दसैँ तिहारमा चामलको अभाव नहोस् भनेर छिटोभन्दा छिटो चामल ढुवानीको व्यवस्था मिलाउन कम्पनीलाई निर्देशन दिइएको उनले बताए ।
अघिल्लो वर्षको ढुवानी हुन बाँकी ४ हजार ६०० क्विन्टल चामलमध्ये ६ सय क्विन्टल ढुवानीको समिट एयरले असारमै जिम्मा लिएको भए पनि अहिलेसम्म ढुवानी गरेको छैन ।
वर्षाका कारण समयमा ढुवानी गर्न नसकेको र हिमाली जिल्ला भएकाले बिहान मौसम नखुल्ने र दिउँसो हावा चल्ने भएकाले ढुवानीमा समस्या भएको एयरलायन्सहरूको भनाइ छ ।
मौसम खुल्ने बित्तिकै ढुवानीको काम सुरु गर्ने एयरलाइयन्सहरुले बताएका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९ १२:५७