काठमाडौं– भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो ।
घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गोवा जाँदै डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै गर्दा पछाडिबाट ट्रकले ठक्कर दिएको हो । सो बसमा करिब ६० जना नेपाली मजदुर रहेको जनाइएको छ ।