काठमाडौं–पब्लिक ईनोभेटर ई. दिपेन्द्र कँडेलले सुचना प्रविधि विधेयेकले नेपाल र नेपाली नागरिक कसैको पनि स्वतन्त्रता हनन् नहुने दाबी गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् । उनले उक्त विधेयक सर्वसम्मतीले पारित गराउनको लागि राजनीतिक दललाई आग्रह समेत गरेका छन् । उनले उक्त विधेयक सम्पूर्ण नेपालीहरूको सुरक्षाको लागि रहेको दाबी गरे । यद्धपी उनले विद्येयकको सजाय तथा कसुरको प्रावधानमा भने आफ्नो असहमति दर्ज गरे । उनले संविधानमा लेखिएको सजायलाई परिमार्जन गरेर सजाय तोक्ने प्रावधानको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले विद्येयकमा राखिएको सजाय तथा कसुरको प्रावधानलाई सच्याएर सामाजीक सञ्जालमा गलत धारणा प्रकाश पार्ने व्यक्तिको सजाय उनीहरूको सामाजीक सञ्जाल नै बन्द गराउनु उत्तम हुने तर्क अघि सारे ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकसामू सजायलाई मात्र केन्द्रित गरेर उक्त विधेयक खारेजीको माग गरेकोमा पनि कँडेलले आपत्ति जनाए । उनले सामाजिक सञ्जालको हकमा नेपालमा रहेका प्रत्येक सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त सञ्जालहरू विधिसम्मत रूपमा दर्ता गराउनुपर्ने धारणा राखे ।
त्यसैगरी कार्यक्रममा सामाजिक अभियन्ता पुण्य गौतमले पनि उक्त सूचना प्रविधि विधेयेकले कसैको स्वतन्त्रतालाई ठेस नपुर्याउने स्पष्ट पारे । उनले भने,‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो विधेयकलाई गलत ढंगले प्रस्तुत गरिरहेको छ । यसप्रति सबै सचेत हुनुपर्छ ।’
उनले उक्त विद्येयकले नेपालको विकासमा ठूलो भूमिका खेल्ने विश्वास दिलाए । उनकाअनुसार देश तथा समाजमा विद्यमान रहेका सबै प्रकारका विकृति तथा विसंगतिलाई हटाउन सरकारले विधेयक ल्याएको हो ।
उनले प्रजातन्त्रको मसिहा भन्ने केही व्यक्तिको सम्पूर्ण जन्मकुण्डली आफूले राखेको टिप्पणी गरे । विद्येयक आएपनि फेसबुक, युट्यूब, ट्विटरलगायतका सामाजिक सञ्जाल सजिलै चल्ने र यसमा कुनै प्रकारको समस्या नआउने समेत उनको विश्वास छ । सामाजिक सञ्जालको स्वतन्त्रताको निम्ति पनि उक्त विधेयक संसदबाट सर्वसम्मतीबाट पारित गर्नुपर्ने उनले आवश्यकत्ता औंल्याए ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६ ०६:०५