एजेन्सी– पाकिस्तानले हालैको बाढीबाट प्रभावित भएका देशका तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरेको छ । बाढीमा परेर झण्डै एक हजार तीन सय जनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको प्रतीक्षामा रहेका तीन करोड ३० लाख आफ्ना नागरिकका निम्ति सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको हो ।
सङ्घीय योजना मन्त्री अहसान इकबालले निरन्तरको वर्षासँगै आएको बाढीले तीन करोड ३० लाख सर्वसाधारण प्रभावित भएका, ज्यान गुमाउने र घरबारविहीन हुनेको सङ्ख्या बढ्दै गएपछि शनिबार अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको हो । “पाकिस्तानी प्रवासीहरू र अन्तर्राष्ट्रिय समुदायलाई चरम अभावको योे घडीमा पाकिस्तानलाई सहयोग गर्न अपील गर्दछु,” पत्रकार सम्मेलनमा उनले भनेका छन् । सरकारको प्रारम्भिक अनुमानअनुसार वर्षा र बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको छ ।
पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले शनिबार आफ्नो पछिल्लो प्रतिवेदनमा बाढी प्रभावित क्षेत्रमा थप ५७ जनाको मृत्यु भएको जनाएको छ । जुनको मध्यदेखि सुरु भएदेखि मनसुन वर्षाले ल्याएको बाढीपहिरामा परेरर चार सय ४१ बालबालिकासहित एक हजार दुई सय ६५ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९ १२:३७