काठमाडौं– कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ ।
धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्ने गछिन् । मञ्जु सँगै उनको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने उनको परिवारले राम्रो आम्दानीसमेत गर्दै आएको छ ।
“पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ । धेरै भएपछि बिक्री पनि गर्छौं ।” उनले भने, “सिजनमा राम्रो भयो भने दश हजारभन्दा बढीका झिंगा माछा र घोंगी बिक्री गर्छौं ।” उनले विद्यालय बिदा भएको दिनमा छोराछोरीहरुको दैनिकी पनि खोला किनारमै बित्ने गरेको बताए । बर्सातको समयमा थारु बस्तीमा सिँचाइ कुलोमा समेत अधिकांश ठाउँमा माछा मार्ने जाल हालेको देख्न पाइन्छ । त्यसैमा वर्षाको फुर्सदको समयमा थारु महिला दिउँसोको खानासमेत लिएर माछाको खोजिमा जाने थारु महिलाका लागि एक परम्पराजस्तै बनिसकेको छ ।
दिनभर माछा मार्ने र साझ त्यहीँ माछा तरकारीको रुपमा थारु समुदायले प्रयोग गर्दै आएका छन् । बढी भएको झिङ्गे माछा सुकाएर राम्रो मूल्यमा बिक्रीसमेत हुँदै आएको सुवर्ण चौधरी बताए । केही हिउँदको महिनाको लागि समेत जोहो गर्दै आएका छन् । बर्सातको समयमा मारेका झिङ्गे माछा सुकाएर हिउँदमा समेत खाने गरेको भजनी नगरपालिका वडा नं ६ कि कृष्णी थारु बताउछन् । “थोरै भए आफैँलाई ठिक्क हुन्छ । बढी भए बिक्री गर्छौं । बिक्री भएन भने सुकाएर राख्छौँ ।” उनले भने, “हामीले मारेको माछा खेर जाँदैन । घरका प्रायः सबै जना दिनभर माछा मार्न भनेर हिँडेका हुन्छौँ ।” घरका पाँच जना सदस्यले अलिअलि गरे पनि एकदुई केजी झिङ्गे माछा साँझको समयमा सङ्कलन हुने गरेको उनी बताउछन् ।
बजारमा अहिले घोंही प्रतिकेजी रु एक सयमा बिक्री हुने गरेको छ । झिङ्गे माछा प्रतिकेजी रु पाँच सयमा बिक्री हुन्छ । टीकापुर –८ मा रहेको जितु कटेजका सञ्चालक जितबहादुर चौधरीले होटलमा माछा बिक्री गर्न महिला आफैँ आउने गरेको बताए। उनले महिलाले माछा मार्ने कामलाई रोजगारीको रुपमा लिएको बताए “खेतीपातीको काम सकिएपछि हिउँदको समयमा मजदुरी गर्ने महिला बर्सातको समयमा माछा मार्न व्यस्त हुन्छन् ।” उनले भने, “बर्सातको समयमा मजदुरीको काम नपाइने भएकाले पनि थारु समुदायका लागि माछा मार्न काम आकर्षणमा परेको हो ।” थारु महिलाका लागि यो क्रम कार्तिक महिनासम्म चल्ने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९ १०:४७