काठमाडौं– भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड मूल्य बराबरको सामग्री हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहेका पाण्डेले १० वटा माइन प्रोटेक्टिभ भेहिकल (बख्तरबन्द गाडी) सहित करिब २२ करोड मूल्य बराबरको सामग्रीको स्याम्पल सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेको हो ।
उनले नेपाली सेनालाई ४ वटा घोडा पनि दिएको छ । दुई देशका बाइल्याटरल कन्सल्टिङ ग्रुपमा छलफल भएपछि तय भएअनुसार भारतीय सेनाले मेडिकल सामग्री र इन्डियन हतियारको स्पेयर पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भारतीय सेनाध्यक्षले हस्तान्तरण गरेको सामग्री ६० प्रतिशत अनुदानमा प्राप्त भएको हो । ४० प्रतिशत रकम नेपाल सरकारले भारत सरकारलाई दिनुपर्छ । सेनाप्रमुख नेपाल भ्रमणमा आएको मौकामा पाण्डेले सामग्री सांकेतिक हस्तान्तरण गरेका हुन् । सम्झौताअनुसार अरु सामग्री पछि आउने बताइएको छ ।