काठमाडौं– राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ ।
उनले गत ५ भदौमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताएका छन् । जाहेरी परेपछि लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ ।
मंगलबारै थापाथलीस्थित प्रसूति गृहमा पीडितको विस्तृत स्वास्थ्य परीक्षण गरिएको छ ।बलात्कार भएको भनिएको स्थानमा सीसी टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ । होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ ।
लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।
उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ ।
पीडितले आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुई पटक बलात्कार गरेको भनेकी छन् । त्यसअघि आफूलाई नगरकोट लगेको पनि बताएकी छन् ।
नगरकोटमा सन्दिपले दुर्व्यवहार गर्ने मनसायले लामो समयसम्म राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् । त्यसैले पीडित नाबालिक भएकाले यसमा मुलुकी अपराध संहिता २०७४ को दफा २५५ मा उल्लेखित बालयौन दुरुपयोग गर्न नहुने कसूर पनि आकर्षित हुन्छ ।
‘कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविकरुपमा एकान्तमा लगे, यौनसम्बन्धी अंग छोए वा अन्य कुनै यौन्जन्य अस्वाभाविक व्यवहार गरे बालयौन दुरुपयोग’ हुने युसको उपदफा (२) मा भनिएको छ । यदि उनीविरुद्ध बालयौन दुरुपयोगको कसूर पनि लागेर प्रमाणित भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।