काठमाडौँ (प्रस)– नेकपा माओवादी केन्द्रनिकट दुई जना वैदेशिक रोजगार व्यवसायी आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । माओवादी केन्द्रको उद्यमी व्यवसायी महाशाखाले वैदेशिक रोजगार व्यवसायीद्वय ओमबहादुर न्यौपाने र कुन्छादोर्जे डिम्दोङलाई उम्मेदवार सिफारिस गरेको हो ।
महाशाखाले न्यौपानेलाई लमजुङ क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ र डिम्दोङलाई सिन्धुली क्षेत्र नं. १ (ख) बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेको छ । न्यौपाने हाल माओवादी केन्द्रको उद्यमी व्यवसायी महाशाखाअन्तर्गतको वैदेशिक रोजगार कमिटी अध्यक्ष छन् ।
उनी विगत ३४ वर्षदेखि उक्त पार्टीमा आबद्ध रही क्रियाशील रह“दै आएका छन् । पार्टीको विद्यार्थी मोर्चालगायत विभिन्न संगठनमा रहेर न्यौपानेले काम गरेका छन् । ओम ओभरसिज इम्प्लोइमेन्ट प्रालिका अध्यक्ष न्यौपाने राष्ट्रि उद्योग व्यापार महासंघका केन्द्रीय सदस्यसमेत हुन् ।
यस्तै विगत ३० वर्षदेखि पार्टीमा आबद्ध अर्का व्यवसायी डिम्दोङ हाल उद्यमी व्यवसायी महाशाखाको उपाध्यक्ष छन् । आकृति रिक्रुटिङ प्रालिका अध्यक्ष उनी माओवादी केन्द्रको श्रम तथा रोजगार विभागको सचिवालय सदस्य तथा नेपाल वैदेशिक रोजगार गणतान्त्रिक मञ्चको महासचिवको जिम्मेवारीमासमेत कार्यरत रहेका छन् । डिम्दोङ सहिद परिवारका सदस्यसमेत हुन् । माओवादी द्वन्द्वकालमा उनले आफ्नो परिवार गुमाएका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ १२:५३