दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ आए । रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुगेका उनले तीन महिना भाषासमेत सिके। रुस जान रु १० लाख लाग्ने भएपछि उनको परिवारले खर्चको जोहो गर्न नसके पछि उनी गाउँ फर्किए ।
उनले सेती प्राविधिक शिक्षालय दिपायलबाट २९ महिने कृषि जेटिए पढाइ पुरा गरे । अहिले उनी दोधारा चाँदनीको सुन्दरनगरमा आफ्नै र भाडामा जमिन लिएर व्यावसायिकरुपमा कृषिमा लागेका छन् । उनले तरकारी खेती, केरा, भटमास, कागती खेती सँगसँगै माछा र बाख्रापालनसमेत गरिरहेका छन् ।
सानैदेखि कृषि कर्ममै लाग्ने योजना बनाएका उनी केही समय विदेशको चक्करमा लागे। “कृषि जेटिए पढ्ने बेला केही साथीले कृषिमा लाग्ने योजना बनाएका थियौँ”, उनले भने, “बीचमा विदेश जाने तयारीमा लागे । तर पैसाको जोहो गर्न नसकेपछि फेरि गाउँ फर्किएर कृषिमा लागे ।”
खड्काले सानैदेखि कृषि पेशा गर्ने इच्छा रहेको भए पनि आर्थिक अभावका कारण सुरुआत गर्न नसकेको उनी बताउछन् । “सानैदेखि माटो खेलाउने बानी, माटोसँग माया छ त्यही भएर कृषि कर्ममा लागे”, उनले भने , “सबैले यति दुःख किन गर्छस् भन्छन् तर म लागि राखेकै छु । एक दिन पक्कै सफल भइन्छ ।” दोधारा चाँदनीको सुन्दरनगरमा उनले एक बिघा जग्गा वार्षिक रु ५० हजार भाडा तिर्ने गरी कृषि गररहेका छन् ।
“दुई वर्ष राम्रोसँग तरकारी फलाए । बजारमा बिक्री भएन । कुहिएरै गयो”, उनले भने, “तरकारी उत्पादन गरेर खेर जान थालेपछि अन्य खेती सुरु गरेको हुँ ।” कृषि पढ्ने बेला नै योजना बनाएका खड्काका साथी भास्कर पङ्गेनी कपिलवस्तुमा कृषिमै लागेका पनि छन्। कृषि गर्ने इच्छा हुँदाहुँदै पनि सुरुआत गर्न आर्थिक अभावले समस्या भएको उनले बताए ।
रु २० हजार बाट सरु गरेको कृषिमा लागेकालाई सरकारीस्तरबाट सहयोग नहुँदा समस्या भएको उनी बताउछन । “बजारीकरणको ठूलो चुनौती छ, उत्पादन गरको तरकारी कुहिएर जान्छ ।” उनले भने, “नगरपालिकाले चिस्यान केन्द्र स्थापना गरिदिएको भए सहज हुने थियो । हाम्रो उत्पादन त एक महिना पनि जोगाउन सकिँदैन ।”
खड्का सरकारले बजारीकरणमा सहयोग गनुपर्ने बताए। कृषिबाट मनग्य आम्दानी गर्न सकिने बताउँदै उनले स्थानीय सरकारले कृषिका निम्ति केही गर्न नसकेको गुनासो गरे । “पाँच वर्षमा करिब रु १० लाख आम्दानी गरेको छु, कृषिबाट रामै्र आम्दानी हुन्छ ।” उनले भने, “स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।”
कृषि व्यवसाय गर्नका लागि शिक्षा आवश्यक छ । कुनै पनि ज्ञान बिना व्यवसाय सञ्चालन गरे त्यसबाट राम्रो प्रतिफल नआउने उनको भनाइ छ । “एकै व्यवसाय गरेर कृषिमै टिक्न धेरै गाह्रो छ, त्यसैले यस पटकदेखि कागती र भटमास खेती सुरु गरेको छु ।” उनले भने, “स्थानीय सरकारले हाटबजारको वा सङ्कलन केन्द्र स्थापना गरेर बजारीकरणमा सहयोग गरे तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।” खड्काले दुई जनालाई रोजगारीसमेत दिएका छन् ।
कृषि बालीको बीमाको सुविधा नहुँदा नोक्सानी बेहोर्नुपरेको खड्काले बताए । सरकारको कृषि नीति उत्पादनमुखी नभएको उनको आरोप छ । बीमामा किसानलाई सुविधा छैन । सरकारले दिने अनुदानमा समेत कागजी प्रक्रिया मिलाउन धेरै सयम लाग्ने गरेको खड्काको गुनासो छ ।