काठमाडौं- नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । । प्रतिस्पर्धी निरोज मास्केलाई २६ मतअन्तरले पराजित गर्दै चन्द सङ्घको नयाँ अध्यक्षमा चार वर्षका लागि निर्वाचित भएका हुन् ।
आज बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार अध्यक्षमा निर्वाचित चन्दले ७६ मत तथा मास्केले ५० मत प्राप्त गरेका हुन् । नवनिर्वाचित अध्यक्ष चन्द यसअघि सङ्घको महासचिव पदमा थिए। यसैगरी महासचिवमा अध्यक्ष चन्दकै प्यानलबाट रोशन श्रेष्ठ निर्वाचित भएका छन् । उनले ८५ तथा प्रतिस्पर्धी मनवीर छन्त्यालले ३९ मत प्राप्त गरेका छन् ।
यस्तै कोषाध्यक्षमा चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित भएका छन् ।उनले ७८ तथा प्रतिस्पर्धी रीता कोइरालाले ४६ मत प्राप्त गरे । सङ्घको बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम लाछिवा ६४ मत प्राप्त गर्दै निर्वाचित भए। उनको प्रतिस्पर्धि ज्योती केसीले ५९ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९ १२:५४