नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा छन् । अन्य समय हुन्थ्यो भने उनी मैैदानमा उत्रिन्छन्, उत्रिँदैनन् ? मैदानमा उत्रिए भने उनले कति विकेट लिन्छन् ? भन्ने आमचासो हुन्थ्यो । तर, यसपटक माहोल फरक छ । उता उनी बेञ्चमा मात्र सीमित भइरहेका छन् भने यता उनीविरुद्ध नेपालमा गम्भीर जाहेरी दर्ता भएको छ ।
एक १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले भदौ ५ गते राति बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा जाहेरी दिएका छन् । ती किशोरीको जाहेरीसँगै प्रहरीले सन्दीपविरुद्ध अनुसन्धान अघि बढाएको छ । सन्दीप र ती किशोरीले खाजा खाएको भनिएको नगरकोटको होटल र काठमाडौं आएर बसेको (जुन होटलमा सन्दीपले ती किशोरीलाई बलात्कार गरिएको भनिएको छ) होटल पुगेर प्रहरीले सिसिटिभी फुटेज हेर्ने, होटलका कर्मचारीसँग सोधपुछ गर्नेलगायतका काम पनि गरिसकेको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको छ । अदालतको अनुमतिसँगै प्रहरीले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनी काठमाडौं आएलगत्तै पक्राउ गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसूरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतले अनुमति दिएसँगै पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ ।
जब सन्दीपमाथि बलात्कारजस्तो गम्भीर र संगीन आरोप लाग्यो नेपाली समाज विभक्त भएको छ । सार्वजनिक व्यक्तित्व बनाएकादेखि सामान्य नागरिक पनि पक्ष, विपक्षमा उत्रिएका छन् । कतिले सन्दीपका पक्षमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् भने कतिले पीडित किशोरीको पक्षमा आवाज उठाउँदै सन्दीपलाई हदैसम्मको कारबाही हुनुपर्ने आवाज उठाइरहेका छन् ।
सन्दीपले आफ्नो स्टारडमको गलत फाइदा उठाएको व्याख्या पनि गरिरहेका छन् । खासगरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्ना टिप्पणी सार्वजनिक गरिरहेका छन् । कतिले सन्दीपलाई बलात्कारी नै करार गरिसके भने कतिले पीडित भनिएकी किशोरीमाथि नै प्रश्न उठाएका छन् । उनीहरूको तर्क छ– ती किशोरीले सन्दीपलाई ‘फसाइन्’ ।
घटना भएको हो कि होइन ? भएको हो भने जाहेरीमा उल्लेख गरिएअनुसार नै हो या फरक हो ? अथवा, १७ वर्षीया भनिएकी किशोरी नाबालिग नै हुन् कि होइनन् ? यी सबै कुरा अनुसन्धानबाट खुल्लान् । उनी नाबालिग भए प्रहरीले त्यही अनुसार अनुसन्धान गर्दै सोही अनुसारको कानुन आकर्षित हुनेगरी मुद्दा चलाउला । प्रतिवेदन तयार पर्ला । उनी नाबालिग होइनन् भन्ने प्रमाण भेटिए त्यहीअनुसार मुद्दा चलाउला ।
तर, बिर्सिन नहुने कुरा के हो भने भर्खर घटना सार्वजनिक भएको छ । यसमाथिको सम्पूर्ण कानुनी प्रक्रिया बाँकी नै छ । प्रहरीको अनुसन्धान, अनुसन्धान प्रतिवेदनसहित सरकारी वकिल कार्यालयमा फाइल, अदालतमा मुद्दा दर्ता, वादी र प्रतिवादीको बयान बाँकी नै छ । यी सबै कुरा हेरेर, सुनेर अदालतले दोषी भए÷नभएको निक्र्योल गर्ने हो । जुन प्रक्रियामा पुग्ने पहिलो बिन्दु भर्खर सुरु हुँदै छ । तर, हामी एक थरीले सन्दीपलाई पूर्ण दोषी देखिसक्यौं भने अर्को थरीले पीडित भनिएकी बालिका, उनको परिवार, उनको मानसिक स्वास्थ्यलगायतमा आघात पुग्नेगरी निम्नस्तरको टिप्पणी गरिरहेका छौं । कानुनका दृष्टिले यी दुवै गतिविधि वाञ्छनीय र स्वीकार्य छैनन् ।
बलात्कारजस्तो संवेदनशील मुद्दा भएकाले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि दबाब बढाउन सकिन्छ तर, आफैं घटनाको प्रत्यक्षदर्शी भएजस्तो वा आफैं न्यायाधीश भएजस्तोगरी अभिव्यक्ति दिनु अस्वस्थकर मात्र होइन गैरकानुनी पनि हो । यस्ता संवेदनशील मुद्दामा लेख्दा, बोल्दा ध्यान पुर्याऔँ। घटनाको अनुसन्धान र कानुनी प्रक्रियालाई प्रभाव पार्नेगरी कसैले नि आफूलाई प्रस्तुत नगरौँ । कानुनलाई पनि ध्यान दिऔँ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९ १६:२८