काठमाडौं– सफल तेलिगु भाषाको फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने भएको छ । नेपाली फिल्म निर्माण कम्पनी एवं वितरक युवा फिल्म्स्ले चलचित्रको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो ।
‘अर्जुन रेड्डी’को नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएका छन् । ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
साउथ स्टार विजय देवगरकोन्डा अभिनीत यस चलचित्रलाई सन्दीप रेड्डी भंगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको थियो । यसै चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो, जसले निकै सफलता हात पारेको थियो ।
बलिउड नायक साहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो । ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएका चलचित्रको नेपाली रिमेक बनाउने निकै चुनौती पूर्ण काम हो भने यसले सुरुवात गरेको कार्य नेपाली चलचित्रलाई विश्व माझ पुर्याउने एक अवसर पनि हो ।
युवा फिल्म्सले यस अघि नेपाली चलचित्र कबड्डी, पुरानो डुंगालगायतका चलचित्र यु.एस.ए.मा वितरण गरिसकेको छ । चलचित्रका कलाकारलगायत अन्य टिम छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।