कालीकोट-कालीकोट जिल्लामा लोपोन्मुख अवस्थामा रहेका रैथाने बाली संरक्षण गर्न किसान जुटेका छन् । यस्ता बालीको माग बढ्न थालेपछि उनीहरू संरक्षणमा जुटेका हुन् ।
जिल्लामा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौँलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् ।
झण्डै दुई दशक पहिले जिल्लामा उल्लेख्यरूपमा ती बाली उत्पादन हुने गर्दथ्यो । यस वर्ष एक रोपनी जग्गामा चिनुखेती गरेको खाँडाचक्र नगरपालिका(११ स्थानीय जीवन गिरीले जानकारी दिए ।
‘चिनुको माग काठमाडौंका व्यापारीबाट आएपछि गाउँमा खेतीको सुरुआत गरेका हुँ ।’ उनले भने, ‘जिल्लाको सुन्तलागाउँ भनेर चिनिने गरेको छ, परापूर्वकालमा गाउँमा चिनु, कागुनुको व्यापकरूपमा खेती हुन्थ्यो । अहिले पुनः खेती सुरु गरेको छु ।’
परीक्षणका रूपमा यो वर्ष एक रोपनी जग्गामा सुरु गरिएको चिनुखेती निकै राम्रो फलेको उनको भनाइ छ । जिल्लामा स्थानीय सरकारले पनि रैथाने बाली संरक्षणका लागि पहल थालेका छन् ।
लोपोन्मुख रैथाने बाली संरक्षणका लागि नगरले आफ्ना नीति तथा कार्यक्रममै समेटेको तिलागुफा नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए ।
‘हामी किसानलाई रैथाने बाली उत्पादन गर्नका लागि अनुदान दिन्छौं । उत्पादित बालीको बजारको सुनिश्चितता गर्छौं ।’ उनले भने । ‘नगरभित्र उत्पादित रैथाने बाली नगरले नै खरिद गरी बजारीकरण गर्ने योजना छ ।’
रैथानी बाली संरक्षणका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सुरु गरेको पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले जानकारी दिए ।
‘पलाँता क्षेत्र कोदो, चिनु, कागुनु, फापर, सिमी र आलु उत्पादनको राम्रो सम्भावना भएको क्षेत्र हो’, उनले भने, ‘यहाँको उत्पादित रैथाने बाली विगतमा आफैँलाई मात्र प्रयोग गरिन्थ्यो । अब किसानलाई धेरै मात्रामा उत्पादन गरेर जिल्ला बाहिर निर्यात गराउने योजना छ ।’
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९ १२:१८