काठमाडौं– बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालो सूचीमा राखेको छ । क्यारेबिएन प्रिमियर लिग (सीपीएल) खेल्न उनी वेष्टइन्डिज पुगेका बेला बलात्कार आरोपमा उनीविरुद्ध काठमाडौं प्रहरीमा उजुरी परेको थियो ।
नेपाली क्रिकेट टिम केन्या उड्नु अघिल्लो रात उनले एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । बलात्कार आरोपपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरिसकेको छ भने सीपीएलले पनि उनलाई रिलिज गरिसकेको छ ।
सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमतिसमेत दिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । बलात्कार आरोप लागेपछि उनले आफू निर्दोष रहेको भन्दै आरोपको सामना गर्ने बताएका थिए । उनले आफू नेपाल फर्किने पनि बताएका थिए । तर, उनी कहिले नेपाल आउँछन् भन्ने विषयमा यकिन भने भएको छैन ।
उनी विमानमाफर्त काठमाडौं आउन सक्ने अनुमानका साथ अध्यागमन विभागले उनलाई कालो सूचीमा राखेको छ । प्रहरी पनि सोहीअनुसार सचेत भएको छ । तर, उनी नेपाल नफर्किए इन्टरपोलको सहयोगमा पक्राउ गरिने प्रहरीले बताउँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९ १४:३२