म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैंक स्थापना भएको छ ।
घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा कपडा बैंक स्थापना गरिएको हो ।
यसबाट प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएका, गरिब तथा अतिविपन्न परिवारलाई उपलब्ध गराउने वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।
‘आवश्यक पर्नेले बैंकमा आएर आफूखुसी रोजेर लुगा लान सक्छन्’, उनले भने, ‘वडामा लैजानेको विवरण राखिए पनि गोप्य हुन्छ । दिनेको नाम सार्वजनिक गर्छौंं ।’
‘कपडा बैंक’मा प्रयोग योग्य लत्ताकपडा संकलन भइरहेको जनाइएको छ । म्याग्दी जेसिजले आइतबार एक सय थान कपडा उपलब्ध गराएको थियो । जेसिजका शाखा अध्यक्ष सन्दीप खत्रीको टोलीले वडाध्यक्ष श्रेष्ठलाई कपडा हस्तान्तरण गरेका थिए ।
जेसिजका पदाधिकारी, सदस्य र बजारका व्यापारीबाट प्रयोग गर्न योग्य तर उपयोग नभएका कपडा संकलन गरिएको हुन् । वडा कार्यालयमा एउटा कोठा कपडा व्यवस्थापनका लागि मात्रै राखिएको छ ।
म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा अर्थावस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।
प्रयोग गरिसकेको वा प्रयोगविहीन अवस्थामा रहेपनि सफा र प्रयोग गर्न मिल्ने कपडा उपलब्ध गराउन सकिने वडा सचिव विनिता रेग्मीले बताए । अभियानमा नगरकार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति एक हजार सहयोग गरेका छन् ।
विशेष गरेर चाडपर्वमा लगाउन सक्ने जाडो मौसमन जिकिँदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले कपडा संकलनलाई तीव्रता दिएका छन् ।
बेनी नगरपालिका वडा नं-७ ले विपन्नको मृत्युपछि अन्त्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराउन थालेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९ ११:१३