काठमाडौं– डेंगुको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूरा बाहुला भएको कपडा अनिवार्य लगाउन आग्रह गरेको छ ।
‘डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले पूरा बाहुला भएको लुगा लगाउन सम्पूर्णमा अनुरोध छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।
हाल नेपालमा डेंगु तीव्र रूपमा फैलिएको छ । डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको मन्त्रालयको दाबी छ ।
मन्त्रालयले डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरू गरिएको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९ १३:५१