काठमाडौं– कैलालीमा देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामूहिक बलात्कार भएको पाइएको छ ।
घोडाघोडी नगरपालिकाको सुखडमा गत भदौ २१ गते देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि बलात्कार भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार देउडा हेर्न गएका बेला खाजा खाने भनेर उनलाई आरोपीहरुले होटलमा लगेर बियर खुवाएको पाइएको छ ।
होटलमा खानपिन गरेर पीडित बालिका साथीसँगै होटलबाट छुटिएर घर हिंडेकी थिइन् । प्रहरीकाअनुसार घर नजिकै छोडेर उनकी साथी आफ्नो बाटो लागेपछि पिछा गर्दै पुगेका एक जनाले ती बालिकालाई आफ्नो घरमा जान आग्रह गरेका थिए ।
बियरको नसामा रहेकी उनी ती युवकको घर गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ती युवकको घर पुगेपछि बालिकालाई बाहिरबाट ढोका थुनेर अरु तीन जना साथीहरु बोलाएर पालैपालो बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख छ ।
डीएसपी जोशीकाअनुसार बालिकाले भोलिपल्ट साथीलाई घटनाबारे बताएकी थिइन् । उनकी साथीले प्रहरीमा उजुरी गर्न आग्रह गरे पनि बदनाम हुने भन्दै त्यसलाई बालिकाले अस्वीकार गरेकी थिइन् ।
प्रहरीका अनुसार त्यसपछि उनले आत्महत्या गर्न स्यानिटाइजर पिएको पाइएको छ । स्यानिटाइजर पिएर बाटोमा असामान्य अवस्थामा फेला परेकी उनलाई २२ भदौमा प्रहरीले नै उपचारका लागि घोडाघोडी अस्पतालमा लगेको थियो ।
अस्पतालमा उपचारका क्रममा उनीमाथि बलात्कार भएको खुलेको थियो । त्यसपछि बालिकाका अभिभावकले प्रहरीकोमा उजुरी दिएका थिए ।
देउडा हेर्ने ठाउँमा भेटिएका मध्ये दुई जना पीडित बालिकासँग पूर्व चिनजानका भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरी नायब उपरीक्षक जोशीका अनुसार सामूहिक बलात्कार गरेको आरोपमा घोडाघोडी नगरपालिका–१ का १८ वर्षीय हिमाल सापकोटा, २० वर्षीय एसु सापकोटा र घोडाघोडी नगरपालिका–२ बस्ने १८ वर्षीय बसन्त बिष्टलाई पक्राउ गरिएको छ । एक जना अर्का आरोप फरार छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९ १५:४२