काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु नेपालको औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुगेका छन् ।
उनी विशेष विमानबाट आज अपराह्न काठमाडौँ आएको हो। अध्यक्ष लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरेको हो ।
सभामुख सापकोटा र अध्यक्ष लीले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । आजै सभामुख सापकोटाले होटल सोल्टीमा अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रि भोजको आयोजना गर्ने छन् ।
अध्यक्ष लीले यही भदौ ३० गतेसम्म चार दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ ।लीले यस भ्रमणका क्रममा नेकपा केपी शर्मा ओली र नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने छन् ।
अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९ १६:१३