चितवन– पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाट पर्यटकको पर्खाइमा छ । भरतपुर महानगरपालिका–२८ स्थित सो स्थान भरतपुरको चौबीसकोठीबाट ३२ किलोमिटरको दूरीमा पर्छ ।
कोरोनाको महामारीले प्रभावित बनेको पर्यटन व्यवसाय चलायमान हुने क्रममा रहेका बेला बर्खाको समय र चितवन जोड्ने सडकका कारण आन्तरिक पर्यटक पनि आउन सकेका छैनन् ।
गोलाघाटसँगै जोडिएको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा अहिले आन्तरिक पर्यटकको संख्या घटेको छ । वनअन्तर्गतको टिकट काउन्टरमा काम गर्दै आएकी रुपामाया कुमालले घुम्न आउनेको संख्या निकै कम भएको जानकारी दिइन् ।
‘दिनमा दुईदेखि तीन सयको हाराहारीमा आन्तरिक तथा बाहिरी पर्यटकले जीप सफारीमार्फत सामुदायिक वन घुम्थे । अहिले दैनिक ५० देखि ६० जनामात्रै हुन्छन् । कहिलेकाहीँ यही पनि हुँदैनन्’, उनले भनिन् ।
कुमालका अनुसार वन क्षेत्र घुम्न आउने पर्यटकका लागि प्रतिव्यक्ति २० टिकट शुल्क लिने गरेको छ । यस क्षेत्रलाई पुनः पहिलाकै अवस्थामा पुर्याउन अझै धेरै कसरत गर्नुपर्ने होटल व्यवसायी सतिश कुमालले बताए ।
अहिलेसम्म अफसिजन भएकाले पनि पर्यटकको संख्या घटेको उनको भनाइ छ । सुनसान देखिएको गोलाघाट चाडपर्व नजिकिएसँगै भरिभराउ हुने आशा गरिएको छ । भरतपुर –२६ ज्योतिनगरबाट गोलाघाट घुम्न आएकी सुनिता चौधरीले पर्यटक आकर्षण गर्नका लागि सेवासुविधामा जोड दिनुपर्ने बताइन् ।
घुम्न, आनन्द लिन, एक्लै समय बिताउन, लेखक र अनुसन्धानका लागि उपयुक्त ठाउँ भए पनि यहाँ आन्तरिक पर्यटकले खोजेजस्तो सेवा(सुविधा कम भएको उनको भनाइ थियो ।गोलाघाटमा विषेश गरेर वाइल्ड लाइफ (वन्यजन्तु) हेर्नका लागि पर्यटक आउने गर्छन् ।
निकुञ्जको जंगल र दुई नदीको संगम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्तीखोला मिसिएर अगाडि बढ्छन् र यहाँ गोलाघाटमा सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा पर्यटक आउने गर्दछन् ।
फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवम् भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्तको शानदार दृश्य देखिन्छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल चितवनको कुनै बस्ती छैन् ।
सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोही पनि यहाँको आकर्षणको केन्द्रबिन्दु रहेको मेघौली सिराइ ताज सफारीका गाइड बुद्धि चौधरीले बताए । उनका अनुसार गैँडालगायत जंगली जनावर किनारमा चर्दै गरेको र पानी खान आएको देख्न पाइन्छ ।
चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै सहजरूपमा हेर्न पाउँदा पर्यटक सन्तुष्ट भएको उनको भनाइ छ । यसले अबका दिनमा पर्यटक आगमनमा सहयोग पुग्ने चौधरीको विश्वास छ ।
अहिले होटल तथा रिसोर्टमा बस्ने पर्यटक अधिकांश देशभित्रकै रहेको उनले बताए । पछिल्लो समय युक्रेन, क्यानडा, युएस र फिलिपिन्सका पर्यटक पनि परिवारसहित आइरहेको जनाइएको छ ।
मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिश्चन्द्र महतोले पर्यटक भित्र्याउनका लागि प्रचार(प्रसार र अन्य अभियानलाई निरन्तरता दिइरहेको बताए । आन्तरिक पर्यटकका लागि गोलाघाट परिचित स्थान भए पनि अन्तर्राष्ट्रियस्तरमा अझै पहिचान पाउन नसकेको उनको बुझाइ छ ।
एकान्तमा रमाउन चाहने पर्यटक पश्चिम चितवनमा केन्द्रित हुने गरेका छन् । यस क्षेत्रमा साना(ठूला गरेर २५ वटा होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन । यहाँ स्तरीय होटलसँगै होमस्टे पनि सञ्चालनमा छन् ।
मेघौलीमा थारू जातिको पुराना संस्कृतिलाई जोगाउने भन्दै सङ्ग्रहालय पनि बनाइएको छ । कुमाल सङ्ग्रहालय, कल्चर हाउस, पर्यटन सूचना केन्द्र, राइनो पार्कलगायतका पर्यटकीय संरचना यस क्षेत्रमा बन्दै गरेका छन् ।
वर्षाका कारण राप्ती नदीमा हुने डुंगा सफारी रोकिएको छ । गोलाघाट संस्कृतिको पनि धनी क्षेत्र हो । यहाँ कुमाल, थारू, तामाङ समुदायको बहुल्यता रहेको छ ।
अहिले कुमाल र थारू समुदायका सांस्कृतिक टोलीहरूले रातको समयमा आफ्नो समुदायको नृत्य तथा गीत प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिने गर्छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९ ११:२४