काठमाडौं– नेप्से परिसूचक करिब साढे २ प्रतिशतले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ४७.४४ अंक (२।४५ प्रतिशत) ले वृद्धि हुँदा १९८१.४८ अंकमा बजार बन्द भएको छ ।
गत साताबाट लगातार ६ कारोबरा दिनसम्म घटेर करिब १९०० को बिन्दु नजिक झरेको नेप्से २८ भदौ मंगलबारबाट भने सुधार भएको छ । नेप्से २८ भदौ मंगलबार दोहोरो अंकले वृद्धि हुँदा आज लगातार दोस्रो दिन पनि हरियाली छाएको छ ।
नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी र व्यापार उपसूचक भने करिब ६ प्रतिशतले बढेको छ । नेप्सेमा उच्च अंकको वृद्धि भएसँगै कारोबार रकम पनि बढेर डेढ अर्ब नजिक पुगेको छ । यो साता लगातार ३ दिनसम्म १ अर्बबाट तल झरेको कारोबार रकममा बुधबार भने सुधार भएको हो ।
बुधबार नेप्सेमा ४६ लाख १८ हजार ५१६ कित्ता सेयर किनबचे हुँदा १ अर्ब ४५ करोड ३८ लाख २५ हजारको कारोबार भएको छ । नबिल बैंकको सर्वाधिक ६ करोड ५१ लाख ६९ हजारको कारोबार हुँदा गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख ८ हजारको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल १८९ कम्पनीको सेयर किनबेच भएकोमा १८४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ५ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य ८.३२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ७.८१ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९ १६:०७