काठमाडौं (प्रस)– नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको आयोजनामा आगामी असोज ६ देखि ९ गतेसम्म ‘नाडा इभी एक्स्पो–२०२२’ हुने भएको छ । नाडाले नेपालमा पहिलोपटक विद्युतीय सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको बृहत् प्रदर्शनी आयोजना गर्न लागेको हो ।
काठमाडौंको भृकुुुुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत् प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी भएको छ । साथै, युएसएड क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीनदिने सूचनामूलक गोष्ठी सचालन गर्ने नाडाले जानकारी दिएको छ । एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर रहेको छ ।
वर्तमान समयमा विद्युतीय सवारीसाधनहरुको महतव दिन प्रतिदिन बढ्दै गएको र यस्ता सवारीसाधनहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ । वातावरणमैत्री विद्युतीय सवारीसाधनको अपरिहार्यतालाई मनन् गर्दे आयोजना गर्न लागिएको प्रदर्शनीमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहने छन् ।
एक्स्पोमा सात वटा ब्राण्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पांग्रे, तीनवटा ब्राण्डका टायर, दुई वटा ब्राण्डका ब्याट्री, नौ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा चार वटा वित्तीय संस्थाहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
‘नेपाली महान चाडपर्वहरुको पूर्वसन्ध्यामा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारीसाधनबारे जनचेतना अभिवृद्घि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीहरु प्रवद्र्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त छौं,’ नाडा इभी एक्स्पो समितिका सभापति अनुपकुमार बरालले भने ।
प्रदर्शनीमा सहभागी हुन खल्ती एपमार्फत टिकट बुकिङ गर्ने व्यवस्था गरिएको छ । उक्त एपमार्फत आगामी असोज ५ गतेसम्म अग्रिम टिकट बुकिङ गर्नेलाई २५ प्रतिशत क्यास ब्याक प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९ १६:१०