चारदिने भ्रमणका लागि जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सु नेपालमा छन् । सोमबार आइपुगेका उनी बिहीबार मात्र फर्किने छन् । नेपाल भ्रमणका क्रममा उनले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतस“ग छुट्टाछुट्टै भेट गरिसकेका छन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।
नेपालमा रहँदा ली नेतृत्वको टोलीको राम्रै स्वागत, सत्कार भएको छ । सभामुख सापकोटाले सोमबार उनीहरुका लागि सोल्टी होटलमा रात्रिभोज नै गरे । आफ्नो कार्यकाल सकिनुको पूर्वसन्ध्यामा सापकोटाले लीलाई नेपाल भ्रमण बोलाएर राम्रै सत्कार गरिरहेका छन् । जाँदाजाँदै छिमेकी देशबाट उच्चस्तरको भ्रमण गराउने उनको रहर पूरा भएको छ । सायद, उनी मनमनै गद्गद् भइरहेका पनि होलान् । भ्रमणका दौरान नेपालको संघीय संसद्स“ग केही समझदारी पनि भएका छन् । जसमा बिआरआईलगायत समेटिएको छ । जसमा सापकोटा र लीले हस्ताक्षर गरेका छन् ।
तर, दुःखको कुरा लीको भ्रमणका क्रममा काठमाडौंवासीले फेरि उही नियति भोग्नुपर्यो, जुन देश तथा विदेशका अन्य भिआइपीहरुको भ्रमणमा भोग्ने गरेका थिए । लीको भ्रमणका क्रममा उनको स्वागतदेखि भेटघाटका बेला काठमाडौंका सडकलाई सुनसान पारियो । निजी तथा सार्वजनिक सवारीलाई ‘डाइभर्ट’ गरियो । सुरक्षा जाँचमा कडाइ गरिनुसम्मलाई त स्वाभाविकै रुपमा लिन सकिन्थ्यो तर, बाटै बन्द गर्ने कुरा पक्कै पनि स्वाभाविक होइन । जसको अहिले चौतर्फी आलोचना भइरहेको छ । यदि, सरकारले आलोचनालाई मनन् गरेन भने बुधबार र बिहीबार पनि नागरिकले सडकमा फेरि उही दुःख व्यहोर्नुपर्ने निश्चित छ ।
अरू त अरू बिरामी बोकेका एम्बुलेन्स पनि जाममा परेको कहालीलाग्दो दृश्यले सत्ताको हृदय पग्लिन सकेन । सडकमा बजिरहेको एम्बुलेन्सको एकोहोरो पीडायुक्त कर्कश ध्वनीलाई भिआइपीको सवारीका साइरनले ओझेल पार्ने काम गरियो । एम्बुलेन्सभित्र छटपटाइरहेका बिरामीको क्रन्दनलाई सत्ताले सुन्नै चाहेन ।
के सत्ता यतिविघ्न हृदयविहीन हुन सक्छ ? यतिविघ्न श्रवनशक्ति गुमाउन सक्छ ? एकपटक होइन हरेकपटक यस्ता भ्रमणमा हुने सवारी र सास्तीलाई सत्ताले कहिले मनन् गर्छ ? जनताको पीडामा संवेदनाहीन हुनलाई नै उनीहरु भिआइपी भएका हुन् ? वा, भिआइपी हुनलाई संवेदनाविहीन हुनैपर्छ ?
हामीलाई हाम्रो सुरक्षा प्रणालीप्रति विश्वास छ । हाम्रा अतिथिलाई हामीबाट कुनै खतरा छैन । जसका लागि पूरा सडक सुनसान बनाउन परोस् । के नेपालीहरु त्यति नामुद अपराधी, हत्यारा भइसके ? जो कुनै विदेशी पाहुनाको सवारीमा सडकमा निस्किनै नमिल्ने ? के हाम्रो देश त्यति कमजोर भइसक्यो ? हाम्रो सुरक्षा प्रणाली त्यति निकम्मा भइसक्यो ? हाम्रो गुप्तचर निकाय यति निरीह भइसक्यो ? नागरिकका मनमा यस्तै आक्रोशको आगो दन्किरहेको छ ।
पाहुना भनेका भगवान हुन् भन्ने नेपाली उक्तिलाई नागरिकले पक्कै मनन् गरेका छन् । चिनिया“ राष्ट्रपतिको नेपाल भ्रमणका बेला हातमा पुष्पगुच्छा लिएर सडकमा उत्रिएका जनताको हार्दिक र प्रेमिल व्यवहारले त्यसलाई पुष्टि गरिसकेको छ । तर, विडम्बना ! पटक–पटक सवारीका नाममा नागरिकको स्वाभिमानमा अभिमानको बुट बजारिन्छ । स्वतन्त्रमाथि डण्डा चलाइन्छ । के कोही पाहुनाको आगमनमा यो देशका निमुखाहरुले अस्पताल पुग्नै नपाई बाटैमा मुर्नपर्ने हो ?
हालै बेलायतमा भएको भिआइपीको सवारी एकदम सामान्य थियो । सडकमा अन्य निजी तथा सार्वजनिक सवारीसाधनहरु गुडिरहेकै थिए । त्यहा“का राजकुमारको सवारी त्यही“ भइरहेको थियो । सबै सामान्य थियो । भिआइपी सवारीको कुनै नेपाली संस्करण त्यहा“ देखिएको थिएन ।
जबसम्म राज्यलाई आफ्नो सुरक्षा प्रणालीप्रति विश्वास हुँदैन, जबसम्म नागरिकको भरोसा हु“दैन तब यस्ता घिनलाग्दा हर्कत भइरहन्छन् । तर, याद गर्नु जनतामा आक्रोशको राप जम्मा भइरहेको छ । कुन दिन विद्रोहको ज्वालामुखी विष्फोट हुन्छ टुंगो छैन । सत्ता सञ्चालकहरुले त्यसअघि नै आफ्नो बुद्धिको बिर्को खोले राम्रो हुनेछ । अन्यथा नागरिक विद्रोहको भुंग्रोमा नपर्लान् भन्न सकिन्न ।
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९ १७:५४