काठमाडाैं - देशभर पछिल्लो २४ घण्टामा थप एक सय १० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार आठ सय २७ जनाको नमूना परीक्षण गरिएकोमा एक सय १० मा काेराेना सङ्क्रमित भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हाे ।
एक हजार सात सय ५२ जनाको पिसीआर र दुई हजार ७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस अवधिमा एक सय २६ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार एक सय तीन पुगेको छ ।
सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६२ रहेको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १६ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार नौ सय ९९, संस्थागत आइसोलेशनमा ६३ र आइसियुमा २० सङ्क्रमित रहेका छन् ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, कालिकोट, बझाङ र दार्चुला छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात सय ९३, ललितपुरमा तीन सय ३७ र भक्तपुरमा ३१ सक्रिय सङ्क्रमित छन् । कूल सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।