काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई लक्षित गर्दै सर्वोच्च अदालतको परमादेशका कारणसँगै काम गर्न पाएको बताएका छन्।
शनिबार दिउँसो बसेको प्रतिनिधि सभाको अन्तिम बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परमादेश नभएको भए प्रतिपक्षीसँग बसेर काम गर्ने मौका नपाउने उनले बताएका हुन्।ओलीले सँधै गठबन्धनको सरकारलाई परमादेशी सरकार भन्दै आएको बताउँदै देउवाले उक्त कुरा भनेका हुन्।
‘हुनत हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशी सरकार भनेर भन्नुहुनेछ। यो कुरा थाहा छ। यो सबै परमादेशबाट हो। जहाँ बसेर हामी सँगै काम गर्न पाइरहेका छौं,’ उनले भने, ‘परमादेश नभएको भए उहाँ र हामीसँगसँगै बसेर काम गर्नै पाउँदैन थियौं। परमादेशले चाहि हामीलाई भेट गर्ने मौका दिएको छ। त्यसको लागि न्यायलयले पनि न्याय गरेको महशुस मैले गरेको छु।’
यस्तै उनले गठबन्धनको सरकारले राम्रो उपलब्धी हासिल गरेको महसुस भएको उनले बताए।शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति कार्यालयसमक्ष पठाउने निर्णय गरेको थियो। उक्त निर्णयसँगै आज अन्तिम बैठक बसेको हो।
प्रकाशित मिति: शनिबार, असोज १, २०७९ १४:११