म्याग्दी –म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जास्थित पुथा र चुरेन हिमालको फेदीमा रहेको मनमोहक भुजुङ्गे बराहताल ओझेलमा परेको छ ।
समद्री सतहबाट करिब चार हाजर चार सय मिटर उचाइमा अवस्थित ताल पर्यटकीय सम्भावनाले महत्वपूर्ण रहेपनि प्रचार-प्रसारको अभावले ओझेलमा परेको हो ।
दिउँद र वर्षायाम सधैं सदावहार पानी नसुक्ने ताल अत्यन्तै आकर्षक रहेको छ । निलो रङमा सुन्दर, शान्त र मनोरम देखिने यस तालको दृश्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ ।
गुर्जादेखि चुरेन र पुथा हिमालको आधार शिविर जाने पदमार्गमै पर्ने भए पनि आवश्यक मात्रामा प्रचार-प्रसार नभएकाले यहाँको महिमा उजागर हुन नसकेको स्थानीय युवा टुकप्रसाद छन्त्यालले बताए ।
‘यो अहिलेसम्म लुकेको छ, यहाँको सम्भावनालाई बाहिर ल्याउन सके गुर्जा आउने जो-कोही पनि यो तालसम्म पुग्न सक्छन्, यसपटक हामीले यस क्षेत्रको पर्यटकीय सम्भावना उजारमा टेवा पुर्याउने गरी लघुकथाको दृश्यसमेत यसै क्षेत्रमा पुगेर छायांकन गरेका छौं’, उनले भने ।
गुर्जा गाउँबाट यस तालमा पुग्न करिब आठ घण्टा र तालबाट आधार शिविर पुग्न तीन घण्टा पैदलयात्रा गर्नुपर्छ । चुरेन र पुथा हिमालको आधार शिविर पुग्ने पदमार्ग सञ्चालनमा आएसँगै आधार शिविर पुग्ने विदेशी पर्यटक तालमा जाने गरे पनि उल्लेख्य मात्रामा पर्यटक यस क्षेत्रमा भित्रिन नसकेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।
वडाध्यक्ष छन्त्यालले विगत दुई वर्षमा गाउँपालिकामार्फत पहिलो वर्ष ७ लाख र दोस्रो वर्ष ११ लाख बजेट विनियोजन गरेर गुर्जाबाट तालसम्मको पदमार्ग निर्माण भएको बताए ।
‘तालसम्म पुग्न कुनै कठिनाइ नै छैन, गुर्जा आइपुग्ने जो-कोही पर्यटक सजिलै पुग्न सक्छन्, त्यहाँबाट आधार शिविर पुग्ने पदमार्गलाई थप स्तरीय बनाउनका लागि पालिकालगायत अन्य निकायमार्फत बजेट व्यवस्थापनका लागि पहल गरेका छौं’, अध्यक्ष छन्त्यालले भने ।
भुजुङ्गे बराह ताल करिब ६ सय मिटर लाम्बाई र साढे दुई सय मिटर चौडाइ भएको क्षेत्रफलमा रहेको अनुमान छ । यस बराहतालमा जनैपूर्णिमाको अवसरमा भेडीगोठालाहरूले पूजाआजा गर्दै आएका छन् ।
जिल्लामा सडक सञ्जालले नजोडिएको एकमात्रै वडा गुर्जामा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं-२ लुलाङबाट एक दिनको पैदलयात्रा गर्नुपर्छ ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९ १३:४३